माओवादीमा नवआगन्तुकको समस्या : ‘भद्रगोलमै गोल हान्ने’ कार्यदलको सुझाव

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ कातिक । ‘रुँदारुँदै हाँस्नुपर्छ र हाँस्दाहाँस्दै रुनुपर्छ’ भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइ हो । भद्रगोलमै गोल हान्नुपर्छ भन्ने अभिव्यक्ति पनि माओवादी नेताहरुका मुखारविन्दबाट बेलाबखत आउने गरेको पाइन्छ ।

यतिबेला नेकपा माओवादी केन्द्रको संगठनात्मक अवस्था निकै नै अस्तव्यस्त र भद्रगोल पाइएको छ । अझ, विभिन्न पार्टी र समूहहरु छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हजारौं नेता–कार्यकर्ताहरुको अवस्था त जिम्मेवारीविहीन र भद्रगोल स्थितिमा छ । यसबारे माओवादीले कार्यदल नै बनाएर अध्ययन गरेको छ ।

यसै सन्दर्भमा कार्यदलले दिएको सुझाव अनुसार नेकपा माओवादी केन्द्रले अब अरु पार्टीबाट भित्रिएका ‘नवआगन्तुक’ नेता–कार्यकर्ताको व्यवस्थापन सुरु गरेको छ । कार्यदलले काम सकेसँगै अब भद्रगोल अवस्थाको अन्त्य हुने नेताहरुले दाबी गरेका छन् । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी पार्टीले सदस्यता नवीकरणदेखि लिएर नवआगुन्तक नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्न थालेको हो ।

पार्टी संगठनका कामलाई चुस्त–दुरुस्त बनाउने र राष्ट्रिय सम्मेलन गर्ने उद्देश्यअनुसार माओवादीले विभिन्न तहका अधिवेशनहरुको तयारी गरिरहेको छ । यसक्रममा पुराना र नयाँ कार्यकर्ताहरुको व्यवस्थापन गर्न थालिएको माओवादीले बताएको छ ।

सांगठानिक संरचना र अभिलेख दुरुस्त नहुँदा नयाँ र पुराना नेता–कार्यकर्ताको व्यवस्थापनमा समय लाग्नुका साथै कठिनाइ समेत उत्पन्न भएको माओवादी नेताहरु बताउँछन् । कतिपय पुराना नेता–कार्यकर्ता त पार्टीको सम्पर्कमा समेत नआउने गरेको भेटिएको छ ।

अर्कोतर्फ, पार्टी संरचना र अभिलेख व्यवस्थित नहुँदा विभिन्न समयमा अरु पार्टीबाट माओवादीमा प्रवेश गरेका हजारौँ नेता–कार्यकर्ता लामो समयदेखि जिम्मेवारी विहीन भई निस्क्रिय बनेको माओवादीको निश्कर्ष छ ।

विभिन्न पार्टीबाट आएकाहरुको व्यवस्थापन गर्न माओवादी केन्द्रले २०७८ भदौ ६ गते तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलको सुझावअनुसार सबै नेता–कार्यकर्ताको व्यवस्थापनमा अब कुनै समस्या नरहेको माओवादी केन्द्रीय कार्यालय सचिवसमेत रहेका श्रीराम ढकालको भनाइ छ ।

तीन सदस्यीय कार्यदलमा स्थायी कमिटी सदस्यद्वय गिरिराजमणि पोखरेल, वर्षमान पुन र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल थिए । कार्यदलले झण्डै २ महिना लगाएर सुझावसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो ।

कार्यदलको सो प्रतिवेदन कात्तिक २ गते बसेको स्थायी कमिटी बैठकले पारित गरिसकेको छ । गत २०७४ जेठ २ देखि २०७५ भदौ २८ सम्म विभिन्न पार्टी र समूहबाट माओवादी केन्द्रमा समाहित भएका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै जिम्मेवारी दिन सुरु गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया