सीके राउतको हिंसात्मक अवतरण : गुलाबको फूलदेखि भाटासम्म !

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ कातिक । जनमत पार्टीका नेता डा. सीके राउतले आफूलाई गान्धीवादी, अहिंसावादी एवं शान्तिप्रेमी बताउँदै आउनुभएको छ । तर, विहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई कालोमोसो दलेर बजार घुमाएपछि राउतको ‘गान्धीवाद’ माथि प्रश्न उब्जेको छ ।

नेपालबाट मधेसलाई अलग गर्नुपर्छ भन्ने अभियान सुरु गरेर चर्चामा आएका सीके राउत ओली सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिक प्रतिस्पर्धामा छन् । उहाँले राष्ट्रिय जनमत पार्टी गठन गरी राजनीतिक गतिविधि गर्दै आउनुभएको छ ।

तर, बिहीबार जनकपुरमा राउतका कार्यकर्ताले एकजना सरकारी कर्मचारीलाई कालोमोसो दलेर अर्धनग्न अवस्थामा बजार परिक्रमा गराएपछि राउतको पार्टी विवादमा तानिएको हो । हिंसात्मक कार्यमा लागेको आरोपमा कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।

यसअघि राउतले आफ्ना कार्यकर्तालाई महात्मा गान्धीको उदाहरण दिँदै अहिंसावादी आन्दोलन गरेर पनि आफ्ना एजेण्डा स्थापित गराउन सकिने बताउने गरेका थिए । राज्यले जति दमन गरे पनि प्रतिकार नगर्न उहाँले कार्यकर्तालाई निर्देशन दिने गरेका थिए ।

तर, विगतमा आफूलाई गिरफ्तार गर्न आउने प्रहरीललाई समेत गुलाबको फूल दिएर स्वागत गर्ने सीके राउत र उहाँका कार्यकर्ताले हिंसात्मक गतिविधि सुरु गरेका छन् । विहीबार खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई सीके राउतका कार्यकर्ताले कालोमोसो दलेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए ।

उहाँका कार्यकर्ता तथा नेताका हातमा गुलाबको फूल हैन, लाठी र भाटा थिए । सीके राउतले आफ्नो ट्वीटरमा जनमत पार्टी ‘स्वतन्त्र मधेस गठबन्धन’ नभएको प्रष्ट पार्नुभएको छ ।

उहाँले अरु पार्टीले विगतमा यस्तै गतिविधि गरेका कारण आफूले पनि त्यस्तै गरेको आशय व्यक्त गर्नुभएको छ । उहाँले अर्को ट्वीटमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीसँग ज्ञापनपत्र बुझाउन पटक–पटक समय मागेको झण्डै ३ महिना नै भयो, तर पुँजीपति भ्रष्टाचारीलाई भेट्न समय हुने, तर जनताको समस्या बुझ्न पार्टी अध्यक्षलाई समय नदिए विकल्प के ?’

 

तपाईको प्रतिक्रिया