खोटाङ, ६ कात्तिक । देशभर शनिबार हुने वडा अधिवेशन अन्तरगत खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँने भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँने भएका नेकपा एमाले खोटाङले जानकारी दिएको छ ।
नेकपा एमालेले आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत वडा अधिवेशन गर्ने भएको हो । जिल्लाका सबै वडामा सर्वसहमतीय ढंगले वडाको नेतृत्व टुङ्ग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिव सहित सदस्य चयन गर्ने छन् ।
प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिबेसन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने छ । एमालेको १० औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालले जनाएको छ ।