एमाले वडा अधिवेशन : खोटाङका ७५ वडामा नेतृत्व चयन चारमा भोलि


खोटाङ, ६ कातिक । नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर खोटाङमा पनि शनिबार वडा अधिवेशन आयोजना गरिएको छ । दश स्थानीय तहको ७९ वडामा शनिबार एकैसाथ आयोजना गरिएको वडा अधिवेशनमध्ये ५० भन्दा बढीमा सर्वसमत नेतृत्व चयन भइसकेको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।

देशभर शनिबार भएको एमालेको वडा अधिवेशन अन्तरगत जिल्लाका अधिकांश वडामा सकिए पनि साकेला गाउँपालिका-४ मात्तिमविर्ता र दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ मा आइतबारका लागि अधिवेशन सरेको जनाइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाकै वडा नं.-७ टेम्मामा नेतृत्व चयन गर्न बाँकी रहेको एमाले खोटाङले बताएको छ ।

एमाले अध्यक्ष दंगालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा बिबादका कारण अधिवेशन हुन सकेन । उहाँले भन्नुभयो, “अधिवेशन सफल पार्न हामी स्थानीयस्तरका नेता तथा कार्यकर्तासँग बसेर छलफल गछौँ, छलफलबाट समस्याको समाधान भएलगत्तै अधिवेशन गरिने छ ।”

अधिवेशनबाट प्रत्येक वडामा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक तथा उप-सचिव दुई र ३१ जना वडा सदस्य चयन गर्न व्यवस्था छ । वडा अधिवेशनका लागि नेताहरु गाउँगाउँमा पुगेका छन् ।

दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा एमालेका दुई हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउने छन् । आगामी ९ कातिकमा पालिका अधिवेशन हुने छ ।

एमालेको १० औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालले जनाएको छ । चितवनमा हुने महाधिवेशनका लागि समेत जिल्लाबाट प्रतिनिधि छनोट गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया