बिराटनगर, ७ कातिक । पछिल्लो समय समाज एक्लो बन्दै गएको छ । समाजमा आपसी सद्भाव र सहयोगी भावनाको लगभग अभाव नै देखिन थालेको छ । बिराटनगरका युवा समाजसेवी बिनायक कान्त पन्त यही भिडमा फरक देखिएका युवा हुन् ।
सेवाको आवरणमा मेवा लुछ्ने सँस्कार बढीरहेको समयमा अरुभन्दा निकै नै फरक सोचका साथ सामाजिक सेवामा निरन्तर लागेको नाम हो बिनायक । बिराटनगर महानगरपालिका-८ का पन्त समाजका आपत बिपतमा स्थानीयले सम्झने पहिलो नाम हो बिनायक कान्त ।
कोरोना महामारीको समयमा मानिस एक आपसका अघि उभिएर कुरा गर्नसमेत सङ्कोच मानिरहेको समयमा पन्तले संक्रमितका घरघरमा निर्मलीकरण गर्नेदेखि उचित आहारको समेत व्यवस्थापन गरेका थिए । रकम अभावले अस्पतालसम्म पुग्न नसकेका बिरामीलाई पन्तले आफ्नै खर्चमा उपचारसमेत गराएका थिए । अस्पताल चौकमा रहेको संजिवनी अस्पतालका संचालक समेत रहेका पन्तको अस्पतालमा धेरै जसो असहाय र निमुखा बिरामीहरूको उपचार केन्द्र बनेको छ ।
बर्सेनी स्थानीय सिंघीया नदीको प्रकोपमा पर्दै आएका बिराटनगर र छिमेकी कटहरी गाउँपालिकाका बाढीपीडितको व्यवस्थापन बिनायक बिना अधुरो नै हुन्छ । पीडित स्थानीयलाई उनले बर्सेनी महिनौ दिनसम्म खानाको व्यवस्थापन गर्दै आएका छन् ।
जाडो यामको समयमा बिपन्न स्थानीयबासीलाई न्यानो कपडा बितरण गर्नेदेखि लिएर अन्य आवश्यक प्रबन्ध उनको सेवाको नियमित कार्यतालिकामा रहने गरेको छ । उहाँको सेवाभावको सम्मान गर्दै विभिन्न सङ्घ संस्थाले उहाँलाई अभिनन्दनका लागि बोलाउँदा बिनायकले सधैँैं अस्वीकार गर्दै आएका छन्् ।
“समाज भनेको घर हो, अनि घरमा एक सदस्यले अर्को सदस्यलाई सहयोग गर्दा सम्मानित हुनु त नसुहाउने कुरा भएन र ? “पन्त उल्टै प्रश्न गर्नुहुन्छ, “मानिसले आफ्नो वार्षिक आम्दानीको निश्चित प्रतिशत रकम समाजका लागि योगदान गर्ने हो भने यहाँ कोहि अभावमा छटपटाउनु पर्दैन ।”
निर्माण व्यवसायी समेत रहनुभएका पन्तको पि.एस. निर्माण सेवाले कटहरी र बिराटनगरका विभिन्न स्थानमा निःशुल्क गरिब आवास निर्माण योजनामा सहयोग समेत गर्दै आएको छ । समस्यामा परेका स्थानीय र रकम अभावमा उपचारबाट बञ्चित भएका बिरामीलाई पन्त आफैले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गर्नुभएको छ ।
पन्त भन्नुहुन्छ, “यो मेरो सन्तुष्टिको आधार हो ।” छिमेकीमा अभाव अनि म मात्रै मासु भात । यो सोचबाट मानिस मुक्त हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “म सबै गर्छु वा गर्नुपर्छ भन्दिनँ, तर सक्ने जति गर्नुस । त्यो पनि भएन भने कम्तीमा सोच मात्रै भएपनि सहयोगी राख्नु आवश्यक छ ।”
बिनायक बास्केटबल सङ्घ मोरङका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँको सकृयतामा स्थानीय स्तरमा विभिन्न प्रतियोगिता समेत संचालन हुदै आइरहेको छ । खेलका माध्यमबाट युवा पुस्तालाई प्रेरित गर्न र लागू पदार्थ बिरुद्धको चेतनामा सहयोगी बनाउन उहाँले विशेष योजना कार्यक्रम समेत संचालनमा ल्याउन लागेको जानकारी दिनुभएको छ ।
स्थानीय स्तरमा वर्षेनी आयोजना हुने विभिन्न खेल प्रतियोगितामा युवाहरूलाई लागू पदार्थ सम्बन्धि जनचेतनामूलक कार्यक्रममा सहभागी गराउने कार्यक्रम रहेको छ । युवा देशको समुन्नत भविष्यको जग हो ।
यदि जग नै कमजोर बन्यो भने घर कसरी दह्रो हुन्छ । खेलको क्षेत्रमा युवाको रुचि र आकर्षण सधैं रहेको छ । समाजमा पछिल्लो समय बढ्दै गएको स्वार्थको उचाइमा बिनायक जस्ता गुमनाम समाजसेवीको आवश्यकता बढ्दै गएको छ ।
समाजसेवालाई आफ्नो प्रचारप्रसारमा ल्याउन रुचाउनेको भिडबाट अलग रहने र आत्म सन्तुष्टिको आनन्दमा मग्न हुने बिनायक जस्ता समाजका गुमनाम समाजसेवीलाई हाम्रो पनि सलाम । यो समाचार बिराटनगरबाट धिरज दाहालको सहयोगमा तयार पारिएको हो ।