खोटाङ, १३ कातिक । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार उजुर राईले ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गर्नुभएको छ । खोटाङ लगायत विभिन्न जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएका पत्रकार राईले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क निवासी छ वर्षीय बालक पुरुषोतम कटुवाललाई नगद रु १५ हजार सहयोग गर्नुभएको हो ।
पत्रकार राईले प्रेस सेन्टर नेपाल खोटाङको कार्यालयमा आयोजित एक कार्यक्रममा पीडित बालकका बुबा लेखबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर रहेका ब्लड क्यान्सर पीडित बालक पुरुषोतमको बिगत पाँच महिनादेखि कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
बिगत २५ वर्षदेखि पत्रकारिता गरिहनुभएका राईले क्यान्सर पीडित बालकलाई उपचारमा आर्थिक समस्या भएको सामाजिक सन्जालहरुमा देखेपछि आर्थिक सहयोग गर्ने निधो गरेको बताउनुभयो । आमा र श्रीमती आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नपाएर ज्यान गुमाएको स्मरण गर्नुहुँदै पत्रकार राईले थोरै भएपनि उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।
सोही अवसरमा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् अनुशासन बिभाग प्रमुख टंक राईले नगद रु तीन हजार प्रदान गर्नुभएको छ । पूर्व सांसदसमेत रहनुभएका नेता राईले बालकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
क्यान्सर पीडित बालकको उपचारमा अहिलेसम्म रु साँढे चार लाख खर्च भइसकेको बुबा लेखबहादुरले बताउनुभयो । “छोराको उपचारका लागि अस्पतालले रु २५ लाख मागेको छ”, उहाँले भन्नुभयो, “आफूसँग एक पैसा छैन । नाबालक छोराको ज्यान बँचाइदिन सबैसँग हात जोडेर अनुरोध गरिरहेको छु ।”
गत साउनदेखि उपचाररत बालकको उपचारमा यसअघि लागेको खर्च पनि ऋण काढेर गरिएको पीडित परिवारले बताएका छन् । काठमाडौँमै कोठा भाडामा लिएर उपचार गराइ रहेको बालकलाई दैनिक परीक्षणमा अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।