राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन

Halesi Khabar
0 Shares

खोटाङ, १४ कातिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन हुनुभएको छ । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वाचित वडाध्यक्ष बन्नुभएका राई राप्रपाको आइतबार सम्पन्न प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसहमत चयन हुनुभएको हो ।

वि.सं. २०३७ सालदेखि राप्रपाको गाउँ कार्यसमिति सदस्य हुँदै जिल्ला युवा सङ्घको अध्यक्ष हुनुभएका राई २०५४ सालमा पार्टी फुट्दा जिल्ला सहसचिव, राप्रपा जनशक्ति र राप्रपा एकता हुँदा सर्वसहमत जिल्ला अध्यक्ष बन्नुभएको थियो । राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकता हुँदा जिल्ला सहअध्यक्ष, एक नम्बर प्रदेशको सहसचिव र त्यसपछि पुनः पार्टी फुटेपछि जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

राप्रपा नेपाल र राप्रपाबीच पुनः पार्टी एकता भएपछि आयोजित प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जिल्ला कार्यसमितिको अन्य पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

एकैसाथ आयोजना गरिएको क्षेत्र तथा जिल्ला अधिवेशनले क्षेत्र नं. ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं. ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ । दुवै क्षेत्रमा ७७÷७७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको नवनिर्वाचत जिल्ला अध्यक्ष राईले जानकारी दिनुभयो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन हुनुभएको जनाइएको छ । पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९५ सदस्यीय समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

क्षेत्रको अन्य पदाधिकारीहरु क्षेत्रले र नगरको अन्य पदाधिकरीहरु नगरले छान्ने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रविन चाम्लिङले बताउनुभयो । जिल्लामै पहिलो पटक खुला आमसभासहित उद्घाटन गरिएको अधिवेशनको अवसर पारेर राप्रपाले दिक्तेलबजारमा ¥यालीसमेत निकालेको थियो ।

तपाईको प्रतिक्रिया