एमाले खोटाङमा केन्द्रीय महाधिवेशन लक्षित जिम्मेवारी बाँडफाँड

Halesi Khabar
0 Shares

खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका नेताहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा हुने दशौँ महाधिवेशन सफल बनाउन एमाले खोटाङले जिल्लास्थित दशैवटा स्थानीय तहका लागि नेताहरुलाई उत्प्रेरकको जिम्मेवारी तोकेको हो ।

पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर कातिक १२ गते पुष्पलाल स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको बैठकको निर्णय आइतबार दिक्तेलस्थित होटल भिलेजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बैठकले ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेँसी गाउँपालिकामा विणादेवी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा रामप्रसाद दंगाललाई उत्प्रेरकको जिम्मेवारी तोकिएको जिल्ला सचिव कुमार आचार्यले बताउनुभयो ।

उत्प्रेरकको जिम्मेवारी पाएकाहरुले २६ कातिकभित्र नवीकरण गर्ने, नयाँ सदस्यता फारम भराउने र सदस्यताको रेकर्डलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने जनाइएको छ । सोही पालिकाभित्रका नेताहरु, जिल्ला तथा पालिकास्तरीय समितिका पदाधिकारी एवम् सदस्यहरु, वडा समितिका अध्यक्षहरु र जनवर्गीय सङ्गठनका अगुवाहरुको सक्रियतामा सदस्यता चुस्त दुरुस्त गर्ने काम शुरु गरिएको सचिव आचार्यले बताउनुभयो ।

नेकपा एमाले खोटाङमा नौँ हजार ६७३ जना सङ्गठित सदस्य रहेको जिल्ला सचिव आचार्यले बताउनुभयो । सङ्गठित सदस्य संख्याका आधार र कोटामा गरी दशौँ महाधिवेशनमा जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

एमालेको सचिवालय बैठकले बेमौसमी अति वर्षाका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र पानीले पाक्न लागेको धानवालीमा क्षति पुगेका कृषकहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पार्टी समितिका सदस्यहरुलाई कृषिमा पुगेको क्षतिको लगत सङ्कलन गर्न पनि भनेको छ ।

यस्तै, दश पालिका र ७९ वडाको अधिवेशन सम्पन्न भइ एकैचोटी तीन हजार १९९ जनाले पार्टीको नयाँ जिम्मेवारी पाएको जनाइएको छ । गत २० भदौदेखि ९ कातिकसम्म विभिन्न पार्टी परित्याग गरी दुई हजार १३७ जना एमालेमा प्रवेश गरेको सचिव आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया