–भीम राई
खोटाङ जिल्लाको बुइपास्थित पञ्चदोबाटो बजार नजिकै च्यानडाँडामा किराँती राजा यलम्बर हाङको निकै ठुलो प्रतिमा ठड्याउन लागिएको खबर सर्वत्र छ । निकै अगाडिदेखि अन्य केही संरचनाहरु बन्दै आएको उक्त ठाउँलाई यलम्बर पार्क भनिएको छ ।
सुन्दा नै निकै भावनात्मक लाग्ने योजना सबैले राम्रै मानेका छन् । पार्क बन्नु आफैमा नराम्रो कुरा पनि रहेन । स्थानीय तहमा सरकार गठन भएसँगै पार्क निर्माणका योजनाहरु बने । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार भयो ।
आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ मा यलम्बर पार्कको नाममा केही संरचनाहरुको समेत निर्माण शुरु भएको थियो । पार्कका लागि प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने र स्थानीय सरकारको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० प्रतिशत लगानी गर्ने भन्ने सहमति गरेर जम्मा रु १४ करोडको लगानीमा यलम्बर पार्क निर्माण हुने जनाइयो ।
यलम्बर पार्कमा १०० फिट अग्लो किराँतीहरुको पहिलो राजा यलम्बरको प्रतिमा राखिने पनि भनियो । यो विश्वकै सबैभन्दा अग्लो कदको यलम्बरको मूर्ति हुने पनि दाबी गरियो । यो सँगै त्यस ठाउँमा किराँतीहरुको साँस्कृतिक सामग्री वाबु पनि (चिण्डो) र आत्मघरको समेत निर्माण गर्ने सार्वजनिक गरियो ।
यसैको अधारमा डिपिआर बनेपछि २०७८ साल असार २८ गते निर्माण कम्पनीका ठेकेदारसँग १८ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता भयो । यसपछि यस ठाउँमा यलम्बर पार्क निर्माणको काम अगाडि बढ्यो ।
यस अगाडि नगरपालिकाद्धारा बनाइएका संरचनामा खास स्थानीयको गुनासो पनि सुनिएन ।
पार्क निर्माणको लागि जम्मा ३३ रोपनि जग्गालाई लिइएको छ । स्थानीय छवटा गाउँका किराँत राईहरुले सामुहिक हिसाबले समाधीस्थलका रुपमा प्रयोग गर्दै आएको च्यानडाँडा यसको पुरानो नाम हो ।
पञ्चदोबाटो बजारले छोएको यस डाँडामा तत्कालीन बुइपा गाविसभित्रको तम्रुङ, गैरीगाउँ, खालिङ टोल, टङ्खुरा, बीचगाउँ र बरबोट टोलका बासिन्दाले समाधिस्थलका रुपमा प्रयोग गर्दै आएका छन् । यस ठाउँमा नौँ पुस्ताभन्दा अगाडिदेखि किराँती पुर्खाहरुको लासलाई राखिएको छ ।
जानकारीमा आएको नौँ पुस्ता र योभन्दा अगाडि पनि यही ठाउँलाई प्रयोग गर्दै आएको भनाइ स्थानीय किराँती पुर्खाहरुले सुनाउँछन् । यस आधारलाई हेर्दा करीब ५०० वर्ष पुरानो समाधिस्त पुर्खाहरुको समेत यसठाउँमा लास गाडिएको पुरानो चिहान छ ।
अहिले मात्रै पनि २८७ वटा चिहान स्थानीय युवाहरुले चिनो (नम्बर मार्किङ) गरेका छन् । स्थानीय सन्तोष राईले यस ठाउँमा करीब तीन हजार ५०० को हाराहारीमा आफ्ना पुर्खाहरुको चिहान रहेको अनुमान गरेका छन् ।
पार्क निर्माण गर्ने कुरा चलेपछि स्थानीय सरोकारवालाहरुले पनि चासो नराखेको भने होइन । उनीहरुले पटक पटक छलफल गरेर वैकल्पिक उपायको खोजी गरिनु पर्ने बताइरहेकै थिए ।
उनीहरुले आफूहरु विकास विरोधी नभएकाले समाधानका लागि उपयुक्त बाटो खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइनै रहेका थिए । अनौपचारिक रुपमा भएका छलफलहरुमा उनीहरुले आफ्नो बाजे पुर्खाको चिहान खन्ने कुरामा चित्त नबुझे पनि विकासका लागि बाधक नहुने बताएका थिए ।
उनीहरुले आफ्ना पितृहरुको चिहान फोर्नुपर्ने भए निश्चित क्षेत्रमा मात्र उपयोग गर्नुपर्ने, चिहान खन्नुपूर्व पुरातात्विक विज्ञहरुलाई बोलाएर ती पुरानो समाधिस्थलमा रहेको महत्वपूर्ण सामग्रीहरु रहेको नरहेको छानविन गरिनुपर्ने, स्थानीय सरोकारवालाहरुको उपस्थितिमा मात्र सो ठाउँको उत्खनन् गरिनुपर्ने, त्यस ऐतिहासिक स्थलहरुमा भेटिएका जुनसुकै प्रकारका सामग्रीहरु किराँत मुन्धुम आधारित सङ्ग्राहलय निर्माण गरेर सङ्ग्रहित गरिनुपर्ने कुरालाई अगाडि सारिरहेका थिए । उनीहरुले मौखिक रुपमा भद्र सहमतिमात्र नभइ लिखित रुपमा यी कुराहरुलाई सम्झौता गरेपछि मात्र उक्त समाधिस्थल भत्काउन दिने भन्ने रहेको थियो ।
यता २०७८ असार २८ गते नै ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भने यी कुनैपनि कुराको सहमति नगरी २०७८ कातिक ७ गतेका दिन एक्कासी स्काभेटर प्रयोग गरेर समाधिस्थलहरु भत्काउन थाल्यो । सहमतिका प्रयासहरु भइरहेकै बेला एक्कासी स्थानीय सरोकारवाला सबै खेल हेर्न गएको अवसर पारेर स्काभेटर प्रयोग भएपछि सबै कुरा पर्दाफास हुन थालेको हो ।
यसरी आफुखुशी निर्माण कम्पनीले मेसिन प्रयोग गरेर समाधिस्थल भत्काउँदै गएपछि कतिपय मानव अस्तिपञ्जरहरु जताततै छरिन पुग्यो । मानव कङ्कालहरु जताततै भेटिए । कति पुरिए कति निकालिए ।
यसरी निकाल्ने क्रममा पुरानो ढयाक्के पैसाहरु भेटिए । भर्खरैको चिहानहरुबाट नयाँ नोटहरु पनि भेटिए । लाससँगै गाडिएका अरु बहुमुल्य सामग्रही पनि थिए की ? स्थानीय बासिन्दाको शङ्का छ ।
विवाद सतहमा आएपछि केही समाधानका प्रयासहरु भइरहेका छन् । सम्बन्धित वडाका वडाध्यक्षले समाधानका लागि प्रयास भइरहेको र उचित समाधान खोजेर सरोकारवालाहरुको मागलाई सम्बोधन गर्न सहजीकरण भइरहेको बताउँछन् । यस्तै निर्माण व्यवसायीले पनि यो काम गर्न कर्मचारीको गलत भएको स्वीकारेका छन् । तर, अझै सहमतिको बिन्दु भने टाढिदै गएको देखिन्छ ।
यी घटनाक्रमहरु एउटा श्रृङ्खलावद्ध र योजनागत हिसाबले आउँदा आउँदै भएको हो । सबै घटनाक्रमहरु मिल्दै आएपनि स्थानीय समुदायको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दा आएको दुष्परिणाम हो । यसलाई यो कोणबाट हेर्दा यति नै देखिन्छ ।
यद्यपि, स्थानीय समुदायको अधिकारको क्षेत्रकोमात्र नभइ आदिवासी जनजातिको अधिकारको क्षेत्रबाट हेर्न थालियो भने एउटा नमिठो र कहाली लाग्दो घटनाको रुपमा भेटिन्छ । जुनभूमिमा आफूले त्यतिका दुःख गरेर तिनै सन्तानहरुलाई उनीहरुले जन्माए हुर्काए तिनै सन्तानले उनी सुरक्षित रहेको स्थलनै नास गर्नु अति मर्मस्पर्शी दुःखान्त घटना हो ।
जल होस, जङ्गल होस या जमिन होस, त्यहाको पहिलो अधिकार स्थानीय समुदायको हुन्छ । अधिकारको हिसाबले उपभोग परिरहेका रैथानेहरुको हुन्छ । कुनै योजना सञ्चालनको पूर्व त्यसले पार्ने वातावरणीय प्रभावको अध्ययन गरिन्छ ।
यसबाट हुने सामाजिक, आर्थिक क्षति तथा भावानात्मक क्षतिको अध्ययन र यसको निराकरण बिना योजना सञ्चालन गर्न पाइन्न । तर, यहाँ जुन किसिमबाट योजना सञ्चालन भएका छन् । यो भयानक छ । एउटा मानवीय संवेदनालाई किनेर बहुमुल्य र पुरातात्विक इतिहासलाई निमिट्यान्न बनाउन खोजिएको देखिन्छ ।
मानवीय संवेदनासँगै जोडिएको जातीय सेन्टिमेन्टलाई समातेर अरु नै स्वार्थले उक्त च्यानडाँडा भन्ने ठाउँ छानिएको त हैन ? अहिले प्रश्नहरु उठ्न थालेका छन् । नत्र त्यस्ता पार्क बनाउन आवश्यक वैकल्पिक भूगोल थिएनन् त ?
प्रश्नहरुको अब चाङ लाग्ने छ । यदि केही सम्झौताहरु भए सरोकारवालाको माग पनि पुरा भयो । त्यसबेला यलम्बर हाङको १०० फित अग्लो मुर्ति पनि त्यहि डाँडामा उभ्याइने भयो भने त्यस बेला आफ्नै सन्तानको चिहानमाथि कसरी उभिन सक्लान् यलम्बर हाङ !