–भीम राई
सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बन्यो । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारमा सुरक्षाकर्मीहरु र स्थानीय जनप्रतिनिधिले घरेलु मदिरा (रक्सी) नष्ट गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातियो । नेपाल प्रहरीको (इप्रका हलेसी महादेवस्थान)को नाममा खोलिएको फेसबुक पेजमार्फत तस्वीर सार्वजनिक भयो ।
घरेलु मदिरा अर्थात लोकल रक्सीलाई अवैध भन्दै स्थानीय होटलहरुबाट जफतगरी नष्ट गरिएको सामाजिक सञ्जालमा उल्लेख छ । फोटो सार्वजनिक हुनासाथ यसको सकरात्मक भन्दा बढी नकरात्मक सुझाव साथै स्थानीय समुदायको चर्को आलोचना शुरु भयो । यसमा सुरक्षाकर्मीको कुरा एकातिर रहेपनि स्थानीय जनप्रतिनिधि वडाध्यक्ष चइन्द्र राईले हाँसी हाँसी रक्सी पोखाएको फोटोले बढी नै आदिवासी जनजातिहरु आक्रोशित हुन पुगे ।
घटना हेर्दा सामन्य लाग्छ । पोखाउनेहरुलाई लाग्दो हो ‘जाबो १५÷२० जम्बो रक्सी र केही ड्रम जाँड त पोखाईएको हो ।’ तर यसले दिन खोजेको सन्देश भने निकै ठुलो छ । हलेसीमा रक्सी होइन स्थानीय आदिवासी जनजातिहरुको सिप पोखाइएको छ ।
पसिना पोखाईएको हो । आँशु बगाईएको हो । कोदोको रक्सी होईन गरिब परिवारको रोजिरोटी घोप्टाईएको हो । यसले कालान्तरमा निकै महङ्गो हिसाब किताब राख्ने छ । जसले पोखायो जानेर या नजानेर पोखायो तर उसकालागी इतिहास महङ्गो हुने नै भयो । विशेष गरि सुरक्षा निकायलाई राज्यले दिएको अधिकार भन्लान र चोखिएलान् । तर वडाध्यक्ष ज्यू त नेता हो ।
जनप्रतिनिधि हुनुहुन्छ । जनताको हितमा काम गर्नुपर्ने हो । अझै उहाँ त कुनै समय किरात राई विद्यार्थी संघ भन्ने संस्थाको केन्द्रिय सदस्य समेत हुनु भएको मान्छे । यसबेला कुन अफ्ठयारोले पोखाईयो गरिबको पसिना ? प्रश्न दर्विलो छ । यसको जवाफ आम समुदायले खोज्ने नै छन् ।
रक्सीकै कुरा गर्ने हो भने हाम्रो आफ्नै ठाउँमा आफैले उत्पादन गरेको स्थानीय वस्तु हो । यो क्षणभरमा सिकेर, कुनै विज्ञहरुको टोलीले तालिम तथा प्रशिक्षण दिएर भएको उत्पादन होईन । यसमा राज्यले नियमन गर्नुपर्ने कुनै कारण नै छैन ।
यसमा कुनै किसिमको रसायनिक पदार्थ मिश्रण गर्न पर्दैन । न राज्यले नै लगानी गर्नु परेको छ । यसमा परम्परा देखि प्रयोग हुदै आएको सांस्कृतिक गुण छ । यसको प्रयोग सांस्कृतिक हिसाबले नै हुँदै आएको छ । मुलुत किराती संस्कृतिमा जन्मदेखि मृत्य सम्म यसको प्रयोग हुन्छ । कोशेलीको रुपमा होस या सगुनीका रुपमा । यो गरिब तथा विपन्न बर्गका परिवारका लागि राम्रो आम्दानीको श्रोत पनि हो ।
यसो भनीरहँदा हाम्रो सामाजिक यर्थाततामा उभिएर बहस गर्न सक्नुपर्छ । गरिब तथा विपन्न वर्गमा मानिसहरुले रक्सी व्यवासायीक हिसाबले उत्पादन गर्ने गर्दछन् । उनिहरुले आफ्नो गर्जो टार्नकालागि परम्परागत हिसाबले उत्पादन गरेको रक्सी बेचेर आफ्ना नानी बाबुहरुलाई रोजिरोटीको व्यवस्था गरेका छन् ।
विद्यालय पठाएका छन् । यसर्थ यो आयआर्जनका रुपमा सरल हिसाबले उपयोग हुँदै आएको वस्तु हो । यसमा किन बन्देज गरिरहनु पर्ने ? प्रश्न उठाउनु पर्दछ । उठ्नु पर्दछ । उता ब्राण्डेड मदिराको नाममा खोटाङ जिल्ला भित्र बार्षिक २ अर्ब बढीको मादक पदार्थहरु भित्रिने गरेको व्यवसायीहरुले बताउँछन् ।
शिलप्याक गरेर ल्याइएको रक्सीहरु गरिबको घरमा हुँदैन । टाठाबाठा नेता, उच्च तहका कर्मचारी हाकीम तथा धनाढ्य व्यापारीहरुको कोठाचोटामा भने यी सबै किसिमका रक्सी भेटिन्छन् । यस्ता रक्सी बेच्नलाई राज्यले पनि छुट दिन्छ । केही राजश्व पाएको भरमा कर तिरेकैले यी रक्सीहरु खुलेआम किन्न बेच्न पाईन्छ । तर आफ्नै उत्पादन स्थानीय रक्सी भने लुकेर किन बेच गर्नुपर्ने बाध्यता हाँस्यासपद छैन र ?
विदेशी तथा स्वदेशि उत्पादनका ब्राण्डेड मदिराहरु प्राय सबैले विशेष अवसरहरुमा प्रयोग गर्दै आएका हुन्छन् । अथिति सत्कार गर्नु परेमा सुरक्षाकर्मी होस या कर्मचारी, जनप्रतिनिधि होस या ठेकदार व्यापारी सबैले यहि उपभोग गर्छन् । अहिले सामाजिक सञ्जालहरुमा आएका तस्वीरहरु मध्येका बर्दीवालाहरुनै वर्दि खोलेपछि लोकल खोज्न कुद्दा हुन् । यस्ता घटनाहरु दिनदिनै देखिएका छन् । भने यो चाडपर्वको बेला किन गरेको रक्सी पोखाएर रत्यौली ? यसले के बिगार गरेको छ हँ ?
कि प्रहरी प्रशासन वा राज्यले घोषणा गर्नु प¥यो सरकारलाई कर तिरेपछि । सरकारले तोकेका रक्सीहरु जति पिएपनि हुन्छ । त्यसले मातिदैन भन्न सक्नु प¥यो । होईन त्यसले दिने मात र घरेलु रक्सीले दिने मात फरक हुन्छ भन्नेृ व्यख्खा सरकारी नितीमा आउनु प¥यो ।
कोदो तीनपाने रक्सी कडा किसिमको विष हो भन्ने प्रमाणित गर्नु प¥यो । होइन भने किन यो रोईलो गर्नु परेको हो ? जवाफ दिनु पर्दो हो की ? राज्यलाई कर चाहिएको हो भने करको दायरामा ल्याउने नीति बनाएर कर उठाउने तर्फ लाग्दा हुन्न र ? यतातिर राजनीति नेताहरुले ध्यान दिनु पर्दैन । जनप्रतिनिधिले यसो सोच्दा के अपराध लाग्छ ?
अत सामाजिक सञ्जालबाट सार्वजनिक भएको सँस्कृतीमाथिको हमलाप्रति नागरिकले अर्को विद्रोह शुरु गर्न आवश्यक छ । केही समय अगाडि प्रदेश नं १ मा सामाजिक विकास मन्त्री बन्नु भएको माननीय उषाकला राईको ब्याण्ड भर्सेज ब्राण्ड एउटा अभियानको शुरुवात भइसकेको छ ।
साँच्चै अब लोकल कोदोको रक्सीलाई यसरी पोखाएर ब्याण्ड गर्ने र विदेश रक्सीहरुलाई ब्राण्ड मान्दै दिनानुदिन भित्र्याउने हो भने परिणाम ठिक उल्टो बनाउन पनि स्थानीय आदिवासी जनजाति तथा मतवाली गैरमतवालीहरु लाग्न सक्छन् । त्यसबेला बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका महङ्गा र ब्राण्डेड भनिएका रक्सी तथा वियरहरु बोकेर आएको गाडीहरुले खोटाङ जिल्लाको सिमान जयराम नकाट्न सक्छन् ।
परम्परादेखि प्रयोग गरिदै आएको वस्तुहरुलाई विस्थापित गरेर आयातित् बहुराष्ट्रिय कम्पनिको रक्सी तथा वियर खान बाध्य पार्ने सरकार तथा सत्ताको बलबुत्ताले नभ्याउने किसिमको उपभोक्ताहरुको आन्दोलन अगाडि बढ्न सक्दछ । यसबेला दुधकोशीका माछाहरुले महंगा रक्सी र वियर खाएको हेर्न नपरोस् ।
मदिरा बोकेर खोटाङ छिरेका सवारी साधनहरु जल्न पनि सक्दछन् । गरिब मारा राज्य र ती तत् तत् संयन्त्रहरुले बेलैमा यी कुरालाई बेवास्ता नगरोस् शुभकामना !