राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने


खोटाङ, १८ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिएर तिहार मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले (कोभिड-१९) को संक्रमण फैलने जोखिम कायमै रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर मात्र दिपावली मनाउन आग्रह गरेको हो ।

बैठक लगत्तै जारी गरिएको सूचनामा (कोभिड-१९) को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी राती ९ बजेदेखि बिहान ६ बजेसम्म देउसीभैली जस्ता भीडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ ।

तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतीलाई मध्यनजर गर्दै प्रशासनले आतसवाजी, पटका लगायतका बिष्फोटकजन्य पदार्थ बेचबिखन र प्रयोग नगर्न/नगराउनसमेत आग्रह गरेको छ ।

यस्तै, मदिरा सेवन गरी सार्वजनिक रुपमा हो-हल्ला गरी शान्ति भंग गर्नेलाई तत्काल पक्राउ गरी नियमानुसार कारबाही गर्ने, जुवातास तथा जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमानुसार कारबाही अघि बढाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती टोली परिचाचलन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै ट्राफिक प्रहरीले तिहार र छठ पर्वको अवसरमा मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्दा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमासमेत चेकजाँचलाई कडाइ गरिएको ट्राफिक प्रहरी खोटाङका सहायक निरीक्षक दलबहादुर खत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया