विराटनगर, २२ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताउनुभएको छ । एमाले मोरङले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सबोधन गर्दै उहाँले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको बताउनुभयो ।
‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नु,’ ओलीले भन्नुभयो, ‘देउवा एउटा कुरा गर्छन, प्रचण्ड अर्का कुरा गर्छन । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन ।’ एमसीसीको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको फरक-फरक धारणा आएपछि ओलीले यस्तो आरोप लगाउनुभएको हो ।