खोटाङ, २४ कातिक । जनता समाजवादी पार्टी खोटाङले घरेलु (लोकल) रक्सी नष्ट गर्ने कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
गत १५ कातिकमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीमा लोकल मदिरा (रक्सी) नष्ट गरिएको घट्नाप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टीले मंगलबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई भेटगरी आगामी दिनमा सामाजिक सद्भाव बिगार्ने र कसैको सँस्कृतिमाथि आँच आउने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको हो ।
जनता समाजवादी पार्टीको मंगलबार बसेको बैठकले हलेसीमा लोकल रक्सी नष्ट गरिएको घट्ना सिंगो आदिवासी समुदायमाथिको साँस्कृतिक हमला भएको र गरिब जनतामारा कार्य भएको निष्कर्ष निकाले लगत्तै प्रशासन पुगेर ध्यानाकर्षण गराइएको जनता समाजवादीका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बूले बताउनुभयो ।
माझ किरात त्यसमा पनि किरात समुदायको उद्गम थलो मानिएको ‘तुवाचुङ’ रहेको स्थानमा लोकल रक्सी नष्ट गरिएको घट्नाप्रति जनता समाजवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनता समाजवादीका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का सचिव सुर्य राई, केन्द्रिय सदस्य देवराज राई, संघीय परिषद सदस्य कणर् कार्की, प्रदेश समिति सदस्य नविन राई, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मणी राई, जिल्ला सह-सचिव टिकाराम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समितिका अध्यक्ष एवं लफ्याङका वडाध्यक्ष निर्मल राई, केपिलासगढी गाउँपालिका समितिका अध्यक्ष गुरुराज राई, दिप्रुङ गाउँपालिका समितिका सचिव अरुण राई लगायतको टोलीले हलेसीमा नियोजित रुपमा लोकल रक्सी नष्ट गरिएको दावी गरेको छ ।
संविधानमा सबै समुदायको धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने व्यवस्था भए पनि केही कानूनी जटिलताहरु भएको उल्लेख गर्दै प्रजिअ दाहालले व्यबहारिक रूपमा बुझ्ने र यस्तो घट्ना नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख खम्बूले जानकारीदिनुभयो । दाहालले विशेषगरी साँस्कृतिक र सामाजिक रूपमा नबाझिने ऐन कानुन बनाउनमा ध्यान दिन जनता समाजवादीका नेतालाई समेत आग्रह गरेका छन् ।
प्रदेश नम्बर-१ की पुर्व सामाजिक विकास मन्त्री एवम् नेकपा एमाले नेतृ उषाकला राईको अवधारणा अनुसार ‘व्यान्ड भर्सेस ब्राण्ड’को अभियान सुरु भइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ वरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरेको थियो ।
हलेसीबजारमा लोकल रक्सी पोखाउनमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरी लगायतको चौतर्फी आलोचना भइरहेको छ । रक्सी नष्ट गरिएपछि ‘व्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता राईले समेत बिरोध जनाउनु भएको थिया । चौतर्फी आलोचना भएपछि वडाध्यक्ष राईले सामाजिक सञ्जालमा माफी मागिसकेका छन् ।