डडेलधुरा, २४ कातिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालकेो चुनाव चिन्ह ‘सुर्य’ आफूले ल्याएको दाबी गर्दै अब त्यसमा ग्रहण लागिसकेको बताएका छन् ।
बुधबार डडेलधुरामा आयोजित पार्टीको कार्यक्रममा आफूले ल्याएको सूर्यमा ग्रहण लागिसकेको बताउँदै न्याय पक्षमा उभिएर कलम लिएर आएको अध्यक्ष नेपालले बताए ।
उनले भने, ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ । तर, के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौँ । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’
आगामी चुनावमा पाँच दलीय गठबन्धनले एमालेको ‘केपी ओली गुट’लाई पत्तासाफ गर्ने पनि अध्यक्ष नेपालको दाबी छ । उनले भने, ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौँ, केपी गुटको पत्तासाफ हुने छ । आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु ।’
बुधबार एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली नेकपा एसमा प्रवेश गरेको छ ।