सिन्धुपाल्चोक, २४ कातिक । राष्ट्रिय जनावरको रुपमा मानिने गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले गत कातिक २२ गते राति करिब ११ बजे बाह्रबिसे-९ राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा पाँचै जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा बाह्रबिसे- ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी-२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।
स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली परिचालन गरि उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारीदिनुभयो ।
उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।