राष्ट्रिय महाधिवेशनका लागि एमालेले ७ करोड २० लाख उठाउने

Halesi Khabar
0 Shares

काठमाडौं, २५ कातिक । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सदस्यहरूबाट लेबी उठाउने निणर्य गरेको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ । बुधबार काठमाडौंमा बसेको एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निणर्य गरेको छ ।

रकम पार्टी सदस्यहरूले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । देशभर एमालेका संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुनेछ ।

बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ । चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ । महाधिवेशनमा विदेशी ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

एमालेले कात्तिक २७ गते देशभरिका १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ । उनीहरूको विवरण ३० गतेभित्र केन्द्रमा उपलव्ध गर्न एमालेले निर्देशन दिएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र सौराहामा गर्ने तयारी गरेको एमालेले सोही आसपासका होटलमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाएको छ ।
दैनिक नेपाल डटकम

तपाईको प्रतिक्रिया