विराटनगर, २५ खोटाङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सम्भवत असोज र कातिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम संक्रमित सङ्ख्या हो । आज कोरोना संक्रमित हुनेमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एक/एक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । हालसम्म कोरोना संक्रमितको संङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने कोरोना भाइरसबाट मुक्त हुनेको संङ्ख्या एक लाख चार हजार ९ सय १९ रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि दुई हजार २६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।
प्रदेशमा आज ४७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक महिला सहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा भाइरसबाट दुई हजार १४७ जनाको मृत्यु भएको छ ।