खोटाङ, २७ कातिक । नेकपा एमाले खोटाङले १० औँ राष्ट्रिय महाधिवेशनको लागि १४ जना महाधिवेशन प्रतिनिधि सर्वसहमत छनोट गरेको छ । शनिबार एमाले खोटाङले विज्ञप्ति सार्वजनिक गर्दै सर्वसम्मत छानिएका महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
आठ हजार ६६४ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङले आगमी मङ्सिर १०-१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १४ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । अध्यक्ष दंगालका अनुसार छनोट हुनेमा प्रदेश कमिटी सदस्य हरिकुमार पोखरेल, पाँचकणर् (पीके) राई, उषाकला राई, खडेन्द्र साङपाङ ईन्द्रप्रसाद दंगाल, पार्टी अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, सचिवालय सदसय चर्चबहादुर विश्वकर्मा, दिपनारायण रिजाल, दिलचक्र राई, विणादेवी राई, सदस्य गोमा मगर र पुष्पकला भुजेल रहनुभएको छ । प्रतिनिधि छनोट गर्दा भुगोल र जातका आधारमा १४ जना प्रतिनिधीमध्ये चारजना महिला र एकजना दलितबाट छनोट गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाभित्रका १४ जनालाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ भने केन्द्रीय कमिटीबाट मनोनित हुनका लागि सुरेन्द्रकुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कणर्बहादुर घले र नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेशकुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधिमा छनोट हुनुभएको छ ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न एमाले जिल्ला कमिटी खोटाङको बिहीबार बसेको बैठकले पार्टी कमिटी सचिवालयलाई जिम्मा दिएको थियो । सचिवालयको शनिबार बसेको बैठकले १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको महाधिवेशन कार्यदल खोटाङका संयोजक भट्टराईले जानकारी दिनुभयो ।