खोटाङ, २८ कातिक । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पठन पाठन सुचारु भएको छ । कोभिड-१९ को महामारीका कारण हालसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्दै आएका विद्यालयलाई आइतबारदेखि पुर्ववत अवस्थामा सुचारु गराइएको हो ।
हाल कोभिड-१९ को महामारीको प्रभाव कम हुँदै गएको, महामारीका कारण शैक्षिक सत्र २०७८ नियमित समयभन्दा ढिलो सुरु भएको तथा बाँकी समयभित्र पाठ्याक्रमले निर्धारण गरेका सिकाई उपलव्धि पूरा गर्नुपर्ने दायित्व अनुसार विद्यालयलाई साविकमै समय अनुसार खुलाउन सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “दिउँसो ४ बजेसम्म पठन-पाठनका लागि शिक्षा शाखाले आज (आइतबार) बाट गाउँपालिका भरिका सम्पूणर् विद्यालयलाई पत्राचार गरिसकिएको छ ।”
सात वडा रहेको गाउँपालिकामा कोभिड-१९ को महामारीका कारण गत १० भदौदेखि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठन-पाठनको व्यवस्था गरिएको थियो ।यसअघि भने अनलाइनबाट भर्चुअल कक्षा सञ्चालन गरिएको शिक्षा अधिकृत श्रेष्ठले जानकारीदिनुभयो । गाउँपालिकामा ८ माध्यमिक विद्यालय र ३५ आधारभुत गरी ४३ सामुदायीक तथा एक वटा संस्थागत विद्यालय रहेका छन् ।