खोटाङ, २८ कातिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै जिल्ला प्रशासनमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन-पत्र बुझाएको छ । आइतबार खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहललाई ज्ञापनपत्र बुझाएको हो ।
परमादेशबाट बनेको गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ भूल्या बृद्धि गरी गरीब एवम् सर्वहारा नेपाली जनताको ढाड सेकाउने काम भएको अनेरास्ववियु खोटाङले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्या बढ्दा पटक-पटक मूल्य बृद्धि गर्ने तर घट्दा मूल्या नघटाउने नेपाल आयल निगमको कदमप्रति खेद प्रकट गरेको छ । ज्ञापन-पत्रमा भनिएको छ । शान्तिपूणर् आग्रहलाई बेवास्ता गरिए अन्यापूणर् मूल्य बुद्धिका बिरुद्ध जस्तो सुकै प्रतिकार गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझाउन जिल्लाका संयोजक खेमराज राई लगायत विद्यार्थी नेताहरु प्रशासन पुगेका थिए ।
सरकारको सिफारिसमा नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो । मूल्य बृद्धिको विषयमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (बिप्लप) र विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले देशभर विभिन्न समयमा चर्को विरोध प्रदर्शन गरिरहेका छन् ।