खोटाङ, २९ कातिक । धनकुटामा नेकपा माओवादी (केन्द्र)का वडाअध्यक्षसहित सयभन्दा बढी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुले जिल्लामा माओवादी केन्द्र शून्य प्राय : हुने भएको छ । धनकुटा नगरपालिकाका -९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले पार्टी परित्याग गरेका हुन् ।
वडाध्यक्ष सन्दिप रायमाझीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निणर्यमा पुगेको बताउनुभएको हो । सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउने जानकारी हलेसी खबरलाई प्राप्त भएको छ ।
पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश-१ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता खोजी गरिरहनुभएको छ ।
आज (सोमबार)को कार्यक्रममा सयौँको सङ्ख्यामा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले जानकारीदिनुभयो । धनकुटाको महालक्ष्मी नगरपालिका-३ का वडाध्यक्ष भरत थापा यसअघि नै एमाले प्रवेश गरिसक्नुभएको छ ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा देशभरका विभिन्न पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ताले धमाधम पार्टी परित्याग गरिरहेका छन् ।