काठमाडौं, २९ कातिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन्। तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। जनताको अदालत नियमित सञ्चालन हुनुपर्ने उनीहरुको माग राखेका थिए।
कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने र राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्च परिसरको मुल गेटमै निरन्तर धर्ना बसेका छन्। सर्वोच्चभित्र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन्। सोमबार वकिल र प्रहरीबीच पनि धकेलाधकेल भएको छ।
जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन्। जबराको समर्थन प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ। अदालतमा इजलास नचल्ने भएपछि कानुन व्यवसायी पक्ष-विपक्षमा उत्रिएका छन्। यो समाचार अन्नपूर्णमा प्रकासित छ ।