खोटाङ, २९ कातिक । नेपाली काँग्रेसको १४ औँ महाधिशेवनको मिति नजिकिएसँगै खोटाङमा सातौँ जिल्ला अधिवेशनको लागि नेताहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले प्यानेल (समूह) बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेताहरु आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । अधिवेशनको नयाँ मिति तय भएपछि नेता तथा कार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् ।
जिल्ला सभापतिमा पूर्व राज्यमन्त्रीदेखि तीनपटकसम्म पार्टीको जिल्ला सभापति बनेका तथा गाउँपालिका प्रमुखसमेतको दाबी रहने देखिएको छ । वर्तमान जिल्ला सभापति नरेशकुमार श्रेष्ठ र पूर्व सभापति विष्णुकुमार राईले प्यानेल बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि तीन कार्यकाल सभापति हुनुभएका राईलाई सभापति तथा उपसभापतिमा क्षेत्र नं.१ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं.२ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुङ्गो लगाएको छ । उपसभापतिको उम्मेदवार बन्नुभएका भट्टराईले यस अघिसम्म जिल्ला सभापति बाहेक अन्य पदमा उम्मेदवारी नदिने बताउँदै आउनुभएको थियो ।
राईको प्यानेलबाट सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समिर राईको नाम अटाएको छ । जोशी, आचार्य र राईमध्ये एकजनाले सचिव पदमा दावी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाइने र जिल्ला कार्य समितिमा सङ्गठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको समाचार स्रोतले जनाएको छ ।
पूर्व सभापति राईको समूहबाट सह–सचिवको उम्मेदवारमा सार्जन राई र शालिकराम बञ्जारा रहनुभएको छ । राईको नेतृत्वमा बनेको प्यानेलको पोष्टर सामाजिक सञ्जाल फेसबुकमा अहिले छ्याप्छ्याप्ती भएको छ ।
तत्कालीन जिल्ला विकास समितिको पूर्व जिल्ला सभापतिसमेत रहनुभएका राईको नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसमहत टुङ्ग्याउने तयारी भइरहेको जनाइएको छ । नरेश र विष्णुबीच सहमति भएपछि अब जिल्ला सभापतिको आकाङ्क्षीमा महासमिति सदस्य एवम् पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई देखिएका छन् ।
सभापतिका अन्य आकाङ्क्षीमध्ये सर्वधन, रविप्रकाश र भूपेन्द्र राई आ–आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखसमेत रहनुभएका भूपेन्द्रकुमार राईले पनि आफ्नो उम्मेदवारी सभापतिमा हुने सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।
राईले शुक्रबार खोटाङबजारमा आयोजित आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणासमेत गर्नुभएको जनाइएको छ । केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिनुहुने राईको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको काँग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताउनुभयो ।
राईको नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीको नाम भने, अहिलेसम्म सार्वजनिक गरिएको छैन । जिल्ला सभापतिमा पूर्व राज्यमन्त्री सर्वधन राई र महासमिति सदस्य रविप्रकाश राई पनि आकांक्षी देखिएका छन् ।
पूर्व राज्यमन्त्री राईले यसअघि दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेदवारीबाट कुनै पनि हालतमा पछि नहट्ने बताउनुभएको थियो । अहिलेसम्म औपचारिक रुपमा कुनै पनि प्यानेलमा नरही मनोज तिम्सिनाले जिल्ला उपसभापति र रोजन राईले सचिवको उम्मेदवारी दिने फेसबुकमार्फत घोषणा गर्नुभएको छ ।
उनीहरु दुवैजना पूर्व राज्यमन्त्री राईको समूहमा रहनुभएको समाचार स्रोतको दाबी छ । प्रदेश क्षेत्र (क) र (ख)को अधिवेशनको नतिजा अनुसार जिल्लाको समिकरण फेरबदल हुनसक्ने आँकलन गरिएको छ ।
यसरी हेर्दा खोटाङ काँग्रेसमा तीन समूहको उम्मेदवारी पर्ने जस्तो देखिन्छ । तर, प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई भने यो कुरा स्वीकार्नुहुन्न । निर्वाचन निश्चित हो तर, दुईवटा प्यानलको मात्र निर्वाचन हुने चौलागाई ढुक्क हुनुहुन्छ ।
अहिले जिल्लामा देखिएको काँग्रेसको राजनीतिमा देउवा–सिटौला समूह भर्सेज पौडेल–कोइरालाको समूह हुनेमा पक्का जस्तै छ । यसमा पालिका र वडा अधिवेशनहरुबाट आएका क्षेत्रीय प्रतिनिहरुको भूमिकाले प्रभाव पार्दछ ।
अहिले काँग्रेसको जिल्ला अधिवेशनमा प्रदेश क, बाट ७०३ र ख, बाट ७०३ गरि जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिहरुको सहभागिता हुनेछ । यसमध्ये नेपाली काँग्रेसको विधान अनुसार जम्मा मतदाता संख्याको ५१ प्रतिशत मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ । यो भनेको ७१८ जना हो ।
जम्मा ७१८ मत ल्याउन सकेमा जिल्ला सभापति हुन पाइने अवस्थामा कसले पार्टी सभापतिको बाजी मार्ने यसै भन्न सकिन्न । काँग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता कम रहेका छन् ।
काँग्रेस स्रोतका अनुसार कोइराला–सिटौलाको मतदाताहरु बढी निर्वाचित भएर आएका छन् । देउवा–पौडेल पक्षका प्रतिनिधिहरु गाउँ अधिवेशनहरुमै धेरै छेकिएका छन् ।
उता देउवा र पौडेलको पक्षमा दुई÷दुई सयको हाराहारीमा मात्र मत रहेको जनाइएको छ । यसरी हेर्दा दुवैपक्षको पल्ला उस्ताउस्तै देखिन्छ । तर, अब उम्मेदवारी दिने नेताहरुको कुरामा समेत मतदाताहरुले विचार गर्ने स्रोतको भनाइ छ ।
अहिले सबै ठाउँबाट करीब ८० प्रतिशत प्रतिनिधिहरु युवा आएका छन् । कोइराला समूहबाट जितेर आएका एक प्रतिनिधिले अबको धिवेशनमा सभापति लगायत पदाधिकारीको नेतृत्व युवाको काँधमा आवोस भन्ने रहेको बताएका छन् ।
नेपाली काँग्रेस खोटाङको सातौँ जिल्ला अधिवेशन आगामी मङ्सिर ६ गते हुने जनाइएको छ । काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा हुने काँग्रेसले जनाएको छ ।