खोटाङ, ३० कतिक । नेकपा एमालेकी नेतृ एवम् प्रदेश नम्बर १ की पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री राईले आगामी मङ्सिर–१० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्नुभएकी पूर्व मन्त्री राईले खुला वा आरक्षण कोटा कुनमा भन्ने विषयमा भने जिल्लाका नेताहरुबीचमा थप छलफल गर्न बाँकी रहेको बताउनुभएको छ । “एमालेको केन्द्रीय समितिमा बसेर पार्टीको काम गर्ने मेरो इच्छा छ”, उहाँले भन्नुभयो, “खुला वा आरक्षण जुनसुकै कोटामा मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हुनेछ । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वि.सं. २०२६ सालमा जन्मनुभएकी पूर्वमन्त्री राई कोदोको लोकल रक्सीलाई ब्याण्ड होइन ब्राण्ड बनाइनुपर्ने ‘ब्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्तासमेत हुनुहुन्छ । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रच्नुभएकी पूर्वमन्त्री राई वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।
वि.सं. २०४६ सालदेखि अनेरास्ववियु पाँचौबाट राजनीतिक यात्रा शुरु गर्नुभएकी पूर्वमन्त्री हाल पार्टीको एक नं. प्रदेश समिति सदस्य एवम् प्रदेशसभा सदस्य हुनुहुन्छ । वनस्पति शास्त्रमा एमएसी (मास्टर्स डिग्री) र कानूनमा एलएलबी गर्नुभएकी पूर्वमन्त्री राई अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।
राजनीतिक परिवारमा जन्मनुभएकी पूर्वमन्त्री राईका बुबा रुद्र राई तत्कालीन एमालेका जिल्ला सचिव तथा बाजे सर्वधन राई नेपाली काँग्रेसमा आवद्ध रहेर पञ्चायत विरोधी आन्दोलनका प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । एमालेका कार्यालय सचिव एवम् पूर्वमन्त्री शेरबहादुर तामाङसँग सिन्धुपाल्चोक विवाह गर्नुभएकी पूर्वमन्त्री राई जन्मभूमि खोटाङलाई कार्य क्षेत्र बनाएर राजनीतिमा क्रियाशील हुनुहुन्छ ।
एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृह जिल्ला खोटाङका अन्य आकांक्षी नेतहाहरुले भने हालसम्म औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट एमालेको १० औँ राष्ट्रिय अधिवेशनका लागि १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
प्रदेश समिति सदस्य हरिकुमार पोखरेल, पाँचकर्ण राई ‘पिके’, पूर्वमन्त्री उषाकला राई, खडेन्द्र साम्पाङ, इन्द्रप्रसाद दंगाल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, सचिवालय सदस्य चर्चबहादुर विश्वकर्मा, दीपनारायण रिजाल, दीलचक्र राई, विणादेवी राई, जिल्ला सदस्य गोमा मगर र पुष्पकला भुजेल रहनुभएको छ । प्रतिनिधि छनोट गर्दा भुगोल र जातका आधारमा छनोट गरिएका १४ जना प्रतिनिधिमध्ये चारजना महिला र एकजना दलित रहेका छन् ।
यस्तै, केन्द्रीय समितिबाट महाधिवेशन प्रतिनिधि मनोनित गराउन सुरेन्द्रकुमार राई र दीलकुमारी राईलाई सिफारिस गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक भट्टराई, जनसाँस्कृतिक महासङ्का केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कणर्बहादुर घले र नेपाल खेलकुद महासङ्का अध्यक्ष रमेशकुमार पौडेल स्वतः छनोट हुनुभएको छ ।