काठमाडौं, १ मंसिर । कडा आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अल्टिमेटम समेत दिएपछि तनाबको स्थिति उत्पन्न भएको छ ।
बारले प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि कार्यक्रममा बारको सहभागिता नरहने निणर्य गरेपछि स्थितिले तनाबपूणर् अवस्था निम्त्याएको हो ।
बारले जबरालाई प्रधानन्यायाधीश पदबाट शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिएर कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रधानन्यायाधीश जबराले कुर्सी बचाउन भाडाका प्रदर्शनकारी ल्याएर आफ्नो समर्थनमा नाराबाजी गराएको आरोप लागेका बेला बारको यो निणर्य र अल्टिमेटमले जबरालाई तनाब भएको छ । विवादित छविका जबराका फैसला र उनका हर्कतलाई लिएर बारले निरन्तर आन्दोलन गरिरहेको छ ।
बारकी उपाध्यक्ष रक्षा बस्यालले मंसिर ३ गते शुक्रवारसम्म प्रधानन्यायाधीशको राजीनामा नआएमा १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि समेत खटाई बृहत् विरोध कार्यक्रम गर्ने निणर्य गरेको बताएकी छिन् ।
बारले शुक्रवार संसदमा रहेका सबै राजनीतिक दलहरूको संसदीय दलमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउनेछ । प्रधानन्यायाधीश बाहेकको संवैधानिक परिषदको बैठक बोलाउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने बारले निणर्य गरेको छ ।
बारले प्रधानन्यायाधीश जबरा सम्मिलित इजलासमा भएका विवादित फैसला सङ्कलनका लागि आह्वान गर्ने र त्यसका लागि अध्ययन गर्ने पनि निणर्य गरेको छ ।
केही न्यायाधीशहरू इजलासमा फर्किएका छन् । ती न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणलगायत तामेली, आदेश गर्नुपर्ने खाले मुद्दाहरू मात्रै हेरेको बस्यालले बताएकी छिन् ।
राजीनामा नदिने अडान राख्दै आएका प्रधानन्यायाधीश जबराले सोमवार विज्ञप्तिमार्फत् बारलाई संवादका लागि आह्वान गरेका थिए ।
प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन दबाव परेको देखिएको छ । मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो ।
ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि २०७५ को पुस महिनामा जबरा प्रधानन्यायाधीश बनेका थिए ।