प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाही प्रशासनमा के को भिड लाग्यो ?

Halesi Khabar
0 Shares

काठमाडौं, १ मंसिर । प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाहीमा नागरिकता बनाउनेहरुको भीड बढेको छ । नागरिकता जारी हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवासहित हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने सेवाग्राहीको चाप बढेको हो ।

 

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले चाडपर्व मनाउन घर आएका धेरैजना अहिले नागरिकता बनाउन आइरहेका बताउनुभयो ।

उहाँकाअनुसार जिल्ला प्रशासन कार्यालयबाट दैनिक एक सयदेखि १५० वटासम्म नयाँ र १०० देखि ११५ वटाको हाराहारीमा प्रतिलिपी नागरिकता वितरण भइरहेको छ ।

सहायक प्रजिअ पोखरेलले नागरिकता फाँटमा सेवाग्राहीको चाप थेग्नै मुस्किल पर्नेगरी भीड बढेको जानकारी दिनुभयो । सेवाग्राहीले नागरिकता बनाउन घण्टौँ लाईनमा उभिनु परेको गुनासो गरेका छन् ।

यस्तै, हरिवनस्थित ईलाका प्रशासन कार्यालयमा पनि नागरिकता बनाउनेको अत्यधिक चाप देखिएको छ । कार्यालयबाट दैनिक ६० वटाको हाराहारीमा नयाँ नागरिकता र उत्तिनै सङ्ख्यामा प्रतिलिपि नागरिकता वितरण भइरहेको ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहालले जानकारी दिनुभयो ।

अहिले अधिकांंश चाडपर्व मनाउन गाउँघर आएकाहरु नागरिकता बनाउन आइरहेका बताउनुभयो । त्यसैगरी, ईलाका प्रशासन कार्यालय बरहथवाबाट दैनिक २० देखि २५ वटासम्म नयाँ र १५ देखि २० वटासम्म प्रतिलिपी नागरिकता वितरण भइरहेको कार्यालय प्रमुख राजेश रायले बताउनुभयो ।

नागरिकतासँगै राहदानी बनाउने र सिफारिस लिन आउनेहरुको चाप बढेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रका लागि फोटो धमिलो भएका, अक्षरहरु मेटिएका नागरिकता नहुने भएकाहरुले प्रतिपिली नागरिकता बनाउन आएको कर्मचारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया