पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन राष्ट्रिय युवा संघको माग

Halesi Khabar
0 Shares

खोटाङ, २ मंसिर । राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गरेको छ । बिहिबार राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन-पत्र पठाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका सबै क्षेत्रमा महंगी बढ्न जाँदा सेवाग्राही र नेपाली जनता प्रत्यक्ष मारमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाएको ज्ञापन-पत्रमा पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँस, हवाई ईन्धन जस्ता पेट्रोलिम पदार्थमा भएको मुल्य बृद्धिले नेपाली जनताको आधारभूत आवश्यकता प्रति परमादेश सरकार गैर-जिम्मेवार बनेको तथ्य प्रमाणित भएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाई सँधै घाटा देखाएर भ्रष्टाचार गर्ने उद्धेश्यले वर्तमान सरकारले पटक-पटक मुल्या बृद्धि गरेको भन्दै संघले भत्र्सना गरेको छ ।

आफ्नो माग पुरा नभए परमादेश सरकारको स्वेच्छाचारी कदम विरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने राष्ट्रिय युवा संघका अध्यक्ष राईले चेतावनी दिए ।

गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ मूल्य बृद्धि गरेको थियो । गत २८ कात्तिकमा ज्ञापन-पत्र बुझाउँदै अनेरास्ववियु खोटाङले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेको थियो ।

तपाईको प्रतिक्रिया