खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घर स्थानीय बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दश लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदानगरी रु १८ लाखभन्दा बढी लगानीमा खार्मीस्थित सिरुवानी, रुयल र मानेडाँडाका २७ घर स्थानीय बासिन्दाको हरेक घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको हो ।
वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका तीनवटा गाउँका २७ घर उपभोक्ताको हरेक घरमा निर्माण गरिएका खानेपानीको धारामा अहिले चौबीसै घण्टा स्वच्छ पानी आउने गरेको स्थानीय उपभोक्ता एवम् नेकपा (माओवादी केन्द्र)का गाउँस्तरीय नेता शिवजी राईले बताउनुभयो । “हाम्रो गाउँमा खानेपानीको जोहो गर्न बिहान तीन बजे उठेर कुवा तथा खोला धाउनुपथ्र्याे”, उहाँले भन्नुभयो, “नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी योजनाबाट अहिले हरेक उपभोक्ताको घरमा चौबीसै घण्टा प्रयाप्त खानेपानी आएको छ ।”
खानेपानी योजना सञ्चालन गर्दा प्राविधिक त्रुटीका कारण उपभोक्ता समितिलाई रु साँढे तीन लाखभन्दा बढी ऋण लागेको उपभोक्ता समितिका अध्यक्ष नारदकुमार श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले योजना दिएपछि हरेक घरमा खानेपानी त पु¥याइयो”, उहाँले भन्नुभयो, “सिरुवानी, रुयल र मानेडाँडाका २७ घरमा निर्माण गरिने धाराका लागि फिल्डमा खटिएका प्राविधिकले फिटिङ (ट्याङ्की तथा धारामा प्रयोग हुने सामान)को सामग्री खरिद गर्न भनेर रु २२ हजारमात्र छुट्याएको रहेछ । प्राविधिकको कमजोरीका कारण रु तीन लाखभन्दा बढी उपभोक्ता समिति ऋणमा परेको छ ।”
खार्मीमा सञ्चालित खानेपानी योजनामा देखिएको प्राविधिक त्रुटीका विषयमा नगरपालिकाका प्रमुख इन्जिनियरसँग परामर्श गरेर समाधान गरिने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “प्राविधिक त्रुटी भएको विषयमा उपभोक्ता समितिबाट गुनासो आएको छ”, उहाँले भन्नुभयो, “योजना सम्पन्न भएपछि स्थलगत अनुगमन गर्न प्रमुख इन्जिनियर शान्तिराम वाग्ले आफै जानुभएको छ । प्रमुख इन्जिनियरले दिनुहुने स्थलगत प्रतिवेदनको आधारमा कारवाही हुन्छ ।”
नगरपालिकाको ९० र उपभोक्ता समितिको दश प्रतिशत लगानी भनेर सञ्चालन गरिएको खानेपानी योजना अन्तरगत रुयलमा निर्माण गरिएको ट्याङ्कीबाट रुयल र मानेडाँडाकागरी २१ घर र सिरुवानीमा निर्माण गरिएको ट्याङ्कीबाट छ घर उपभोक्ताको घरमा पानी वितरण गरिएको छ । सिरुवानी, रुयल र मानेडाँडाका २७ घर उपभोक्तालाई लक्षित गरेर देवालीपाखा मुहानबाट करीब दुई किलोमिटर टाढा रहेको छुट्टाछुट्टै तीनवटा गाउँमा खानेपानी पु¥याइएको हो ।
७७४ घरधुरी जनसङ्ख्या रहेको खार्मीका अधिकांश टोलमा लामो समयअघिदेखि खानेपानीको समस्या रहेको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “हाम्रो वडाका हरेक टोलमा खानेपानीको समस्या छ”, उहाँले भन्नुभयो, “वडाबासीमा देखिएको खानेपानीमा समस्या वडा कार्यालयले सम्बोधन गर्न सक्ने अवस्था नभएकाले सम्बन्धित निकायमा सिफारिस गर्ने गरेका छौँ ।”
खार्मीका स्थानीय उपभोक्ताका लागि केही ठाउँमा दातृ निकायले सञ्चालन गरेको खानेपानी योजना बाहेक सरकारी क्षेत्रबाट सहयोग भएको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट उत्तरी क्षेत्रमा पर्ने खार्मीका अधिकांश स्थानीय बासिन्दा आफैले पाइप खरिद गरेर खोला तथा कुवाको पानी तानेर उपभोग गर्दै आएका छन् ।
हरेक नागरिकलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन नेपाल सरकारले यसअघि नै ‘एक घर, एक धारा’ अभियान शुरु गरेको थियो । सरकारले शुरु गरेको अभियानलाई कार्यान्वयनमा ल्याउन हामीले नगरपालिकाभित्रका हरेक नागरिकको घरमा स्वच्छ खानेपानी उपलब्ध गराउने योजना बनाएको नगरप्रमुख रिजालले बताउनुभयो ।