काठमाडौँ, ६ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कुनै फैसला गर्दा पैसा खाएको थाहा भएमा उक्त सूचना बारमा बुझाउन आग्रह गरेका छन् ।
प्रन्या जबराको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोध प्रदर्शन जारी छ । उक्त क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कानून व्यवसायी र सेवाग्राहीहरुलाई उक्त सूचना भएमा बुझाउन आग्रह गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले पैसावालको मुद्दामा मात्र प्रधानन्यायाधीश जबराले काम गरिरहेको आरोप लगाउँदै यदि कतै कुनै मुद्दामा पैसा खाएर फैसला गरेको सूचना भएमा तत्काल बारमा उपलब्ध गराउनुपर्ने बताए । बार आफैले पनि प्रधानन्यायधीशले हालसम्म गरेका फैसलाहरु संकलन तथा अध्ययन गरिरहेको पनि उनले बताए ।
प्रन्या जबराका कारण न्यायालयमा विकृति मौलाएको भन्दै उनको बहिर्गमनलाई मुख्य सर्त बनाएर बारले देशव्यापी आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
यो समाचार न्यूज २४ नेपाल डटटिभीमा प्रकाशित छ ।