खोटाङ, ७ मंसिर । नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गतको मतदान भोली मात्रै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि यहाँ भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र मंसिर ७ गते अन्तिम नामावली प्रकाशन मात्रै भएको छ ।
प्राविधिक कारणले मंगलवार हुने भनिएको मतदान बुधबार विहान ७ वजेदेखि अपरान्ह १ वजेसम्म सरस्वती माध्यमिक विद्यालय दिक्तेलवजारमा हुने जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले बताउनुभयो ।
यसैबीच, मतदानका लागि आएका क्षेत्रिय प्रतिनिधिहरु रुष्ट भएका छन्। वर्तमान जिल्ला कार्य समिति र जिल्ला निर्वाचन समितिले तोकेको समयमा मतदान नगराई आफूहरुलाई शास्ती दिएको भन्दै उनीहरु रुष्ट बनेका छन् ।
मंसिरको बाली भित्र्याउने समयमा मतदानको समय लम्बाएर अधिकांशलाई दुःख दिएको प्रतिनिधिहरु बताउँछन्। मतदानका लागि प्रदेश क्षेत्र ‘क’ वाट ७१९ जना र ‘ख’ वाट ६५४ जना क्षेत्रिय प्रतिनिधिहरु दिक्तेल आएका छन् ।