खोटाङ, ९ मङ्सिर । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा मालेबीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र नेकपा मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गर्नुभएको छ ।
गत कातिक–२५ गते खोटाङका पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, पोलिटब्यूरो सदस्य एवम् प्रदेश सचिवा सदस्यलगायतका चारजना नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिक रुपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र नेकपा मालेका वार्ता टोली संयोजक फुयाँलबीच गत कातिक–२५ गते नेकपा मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाड्नुभएका पूर्वसांसद फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो ।
यसैबीच, नेकपा एकीकृत समाजवादी खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा सङ्गठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान शुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चारवटा स्थानीय तहमा सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादी खोटाङले जन्तेढुङ्गा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ । सङ्गठन विस्तार तथा कार्यालय स्थापनाका लागि जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य चाम्लिङ, सह–ईन्चार्ज वीरबलकाजी राई, प्रदेश समिति सदस्य उदयबहादुर कार्की लगायतका नेताहरु भूगोलमा खटिएका छन् ।
जन्तेढुङ्गा गाउँपालिकामा किर्तीराज राईको अध्यक्षतामा ५८ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । समितिको उपाध्यक्षमा प्रेमकुमार राई, चन्द्रबहादुर थापा, सचिवमा मिलन राई, उपसचिवमा पदम बस्नेत र विश्वहाङ राई चयन हुनुभएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा घमण्ड राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गंगाप्रसाद निरौला, टंकमणि मगर र टंकबहादुर मगर, सचिवमा हरि मगर, उप–सचिवमा प्रेम श्रेष्ठ र हरि कार्की चयन हुनुभएको भएको छ ।
केपिलासगढी गाउँपालिकामा मिलनचन्द्र राईको अध्यक्षतामा ८५ सदस्यीय पालिका समिति गठन गरेको छ । उपाध्यक्षमा डम्बरबहादुर अधिकारी, लिलाबहादुर राई र टीकामायाँ राई, सचिवमा सविन राई, सह–सचिवमा मिलनकुमार राई, रेवाधन लिम्बू र डम्बर राई तथा कोषाध्यक्षमा सरला राई चयन हुनुभएको छ ।
यस्तै, युवराज राईको अध्यक्षतामा २५ सदस्यीय आदिवासी जनजाति महासङ्घ पालिका समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिवालय सदस्य एवम् युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा मकर राईको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन गरिएको जनाइएको छ । समितिको उपाध्यक्षमा दिनेश दाहाल र चाँचरी राई, सचिवमा मधु दाहाल, सह–सचिवमा रमेश खड्का र कोपिला राई चयन हुनुभएको छ ।