आफै खाजा सामल जोहो गरेर महाधिवेशनमा चितवन पुगे एमाले कार्यकर्ता

Halesi Khabar
0 Shares

काठमाडौँ, १० मङ्सिर । नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उहाँले बताउनुभयो ।

“राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो”, उखनालले भन्नुभयो, “बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा गाडीमा कार्यकर्ता र सर्वसाधारण लिएर खाजा सामलसमेत जोहो गरेर चितवन आएका छौँ ।”
गाडीबाट झरेर नारायणी नदी किनारको एक छेउमा उनीहरू खानेकुरा खाँदै थिए । “यहाँ भिडभाडमा खानेकुराको जोहो गर्न सकस पर्ने ठानेर घरबाटै ल्याएका थियौँ । त्यही खाइरहेका छौँ”, उहाँले भन्नुभयो, “नारायण नदी किनारमा हुने उद्घाटन सत्र सकेर आजै गाडीमा कार्यकर्तालाई फर्काउने तयारी भएको छ ।”

खनालले महाधिवेशनबाट एमाले थप सशक्त बन्ने विश्वासका साथ आफू चितवन आएको बताउनुभयो । यस्तै कपिलवस्तु नगरपालिकाका वडा नम्बर ७ र ८ बाट करिब ५० जना कार्यकर्ता शुक्रबार बिहान नारायणगढ आइपुगेका छन् । उनीहरूले पनि आफूहरूले घरबाटै खानेकुरा ल्याएको बताएका छन् ।
महोत्तरीबाट नेता सरोज यादवले गाउँगाउँबाट कार्यकर्ताहरू राप्ती नदी किनारमा उतारेका छन् । किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्म खाजा सामलको जोहो नै गरेका आएका छन् ।

नारायणी नदी किनारमा भेटिएका सहाय यादवले आफूहरू ४ घण्टाको बस यात्राबाट आइपुगेको बताउनुभयो । उनीहरू एमालेको झण्डासहित आइपुगेका छन् भने अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न उत्साहित भएको बताउनुभयो ।
दाङको तुलसीपुरबाट आएका एमाले जिल्ला कमिटी सदस्य द्रोणप्रसाद नेपालले एमाले सशक्त र एकढिक्का बन्ने विश्वास बोकेर आफूहरू एमाले महाधिवेशनमा आएको बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानीय तहका साथै वडावडाबाट नेता कार्यकर्ता एमालेको उद्घाटन सत्रमा सहभागी हुन गाडी रिजर्भ गरेर आएको बताउनुभयो ।

चितवनको नारायणगढ क्षेत्र र विशेष गरी राप्ती नदी किनारमा देशभरबाट आउने नेताकार्यकर्ताको भिडभाड छ । जिल्ला जिल्लाबाट आएकाहरू महाधिवेशन स्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घरबाट ल्याइएका खानेकुरा आएका देखिन्छन् ।

प्राप्ति नदी किनारमा भेला भएका नेता कार्यकर्तालाई आजै हुने उद्घाटन सत्रमा अध्यक्ष ओलीलगायतले सम्बोधन गर्नुका साथै अनेक प्रस्तुतिहरू पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया