काँग्रेस खोटाङको स्थगित मत गणना झण्डै १६ घण्टापछि पुनः शुरु

Halesi Khabar
0 Shares

खोटाङ, १० मङ्सिर । नेपाली काँग्रेस खोटाङको स्थगित मत गणना करिब १५ घण्टापछि पुनः शुरु भएको छ । मत गणनाका क्रममा गएराति करीब १०ः३० बजे सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राई समूहले फरक मतपत्र भेटिएको भन्दै विवाद गरेपछि मत गणना रोकिएको थियो ।

मतपत्रका विषयमा विवाद शुरु गरेका पूर्वराज्यमन्त्री सर्वधन पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष असहमतिको निवेदन नै दर्ता गरेका थिए । विवादका कारण मत गणनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै विवाद निकालिएको अर्को पक्षको दावी छ । कडा सुरक्षा व्यवस्थाका साथ दिक्तेलस्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसो साढे एक बजेदेखि पुनः मत गणना शुरु गरिएको हो ।

मतदानका क्रममा एक हजार ३२२ मत खसेकामा एक हजार १०० मत गणना भइसकेको छ । २२२ मत गन्न बाँकी रहँदा सभापतिका उम्मेदवार विष्णुकुमार राई ८० मतले अगाडि देखिएका छन् ।

पूर्वसभापति विष्णुकुमारले ५७१ मत पाउँदा अर्का उम्मेदवार सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेस खोटाङमा विष्णुकमारको प्यानलले नै अग्रता कायम राखेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया