काँग्रेस खोटाङमा प्यानेलसहित विष्णुकुमार राई सभापतिमा विजयी

Halesi Khabar
0 Shares

खोटाङ, १० मङ्सिर । नेपाली काँग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई प्यानेल (समूह)सहित विजयी हुनुभएको छ । जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दैै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मतमात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदाधिकारीमा पनि नवनिर्वाचित जिल्ला सभापति विष्णुकुमारको प्यानेल नै विजयी भएका छन् ।

उप–सभापतिमा ईवन राईले ७५३ मत र तीर्थराज भट्टरार्ई ७४२ मत ल्याएर विजयी हुनुभएको छ । पूर्व राज्यमन्त्री सर्वधनको प्यानेलबाट उप–सभापतिका उम्मेदवार बन्नुभएका मनोज तिम्सिनाले ५४३ र राजन सैंजूले ३८४ मतमात्र ल्याउनुभएको छ ।

यस्तै, सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी हुनुभएको छ । पूर्व राज्यमन्त्री सर्वधनको प्यानेलको तर्फबाट उम्मेदवार सचिवका रामकुमार राईले ५११ र रोजन राईले ५५३ मत पाएका छन् ।

सह–सचिवमा साजन राईले ६२४ र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी हुनुभएको छ । पूर्व राज्यमन्त्री सर्वधनको प्यानेलबाट उम्मेदवार बन्नुभएका ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत ल्याउनुभएको छ ।

सातौँ जिल्ला अधिवेशनका लागि एक हजार ३७३ प्रतिनिधि चुनिएकामा एक हजार ३२२ मत खसेको थियो । विष्णुकुमार काँग्रेस खोटाङको चौथो कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित सभापति विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल निकट नेताको रुपमा चिनिनुहुन्छ । पूर्व राज्यमन्त्री सर्वधन केन्द्रमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निटक नेताका रुपमा चिनिनुहुन्छ ।

जिल्ला कार्यसमितिका लागि सदस्यहरु र महाधिवेशन प्रतिनिधिको मत भने गणना हुन बाँकी रहेको जनाइएको छ । यसअघि दुई क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा पौडेल समूहकै उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नं. १ ‘क’को सभापतिमा राजेन्द्र राईको प्यानल (समूह) र क्षेत्र नं. २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी हुनुभएको जनाइएको छ । देउवा समूहका सभापतिका अर्का उम्मेदवार भक्तजङ्ग राईलाई ९२ मतले पछि पार्दै ३७२ मत ल्याएर राजेन्द्र राई प्यानलसहित विजयी हुनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार चण्डीकुमार राईलाई ५६ मतले पछि पार्दै घिमिरे क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको जनाइएको छ । घिमिरेले ३३१ मत ल्याउँदा राईले २७५ मतमात्र ल्याउनुभएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया