एमाले महाधिवेशनमा अध्यक्ष ओलीले गरे जल, स्थल र अन्तरिक्षसम्मको चर्चा

Halesi Khabar
0 Shares

चितवन, १० मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जल, स्थल र आकाशसम्मको चर्चा गर्नुभएको छ । देश विकासका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले जल, स्थल र आकाश गरी तीनै क्षेत्रमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले विकासको जग बसालेको दाबी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तुइन विस्थापित गर्नेदेखि लिएर भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माण गर्नेसम्मका काम आफ्नो नेतृत्वको सरकारले गरेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले पहिलो पटक अन्तरिक्षमा देशको स्याटेलाइट पठाएको उल्लेख गर्दै उहाँले भन्नुभयोे, “भूपरिवेष्ठित मुलुकको रूपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा हामीले पु¥याएका छौँ ।”

आफूहरूले नेपालको विकास गर्ने मात्र नभनेर नेपालको अवधारणा नै परिवर्तन गरेको उनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौँ तर म साथीहरूलाई स्मरण गराउन चाहन्छु हामीले धर्तीको अर्विट छेडेर सानो भए पनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौँ ।”

अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउने उहाँको भनाइ थियो । उहाँले जमिनमुनि तार बिछ्याएर ‘फोर जी’ सुरु गरिएको चर्चासमेत गर्नुभयो ।

उहाँले समुन्द्रमा आफूले नेपालको हक छ भनेर पहिलो पटक दाबी गरेको पनि बताउनुभयो । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

ओलीले देशमा ढिलोचाँडो तीनै तहको निर्वाचन हुने भन्दै देशको स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि आगामी निर्वाचनमा एमालेलाई बहुमत चाहिएको बताउनुभयो । उहाँले संविधानको रक्षा र कार्यान्वयन, संविधानको गलत व्याख्यालाई जनअभिमतबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले दसौँ महाधिवेशनबाट पार्टीका केही नीति दुनियाँले बुझ्ने गरी स्पष्ट पार्नुपर्ने खाँचो पनि औँल्याउनुभयो । “हामी सामाजिक सद्भावको पक्षमा छौँ, सहअस्तित्व र सहकार्यको पक्षमा छौँ”, उहाँले भन्नुभयो, “पारस्परिक एकताको पक्षमा छौँ, राष्ट्रिय एकता कायम गर्न चाहन्छौँ । विद्वेष, विरोधको राजनीति हाम्रो होइन । समझदारी सद्भाव एकताको नीति हो भन्ने प्रस्ट पार्नुपर्छ ।”

आफ्नो नेतृत्वको तत्कालीन सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको चर्चा गर्दै उहाँले संविधानमै अङ्कित भइसकेको सो नक्साअनुसारको भूभाग फिर्ता लिन बाँकी नै रहेको पनि बताउनुभयो । संवादका माध्यमबाट उक्त भूभाग फिर्ता ल्याउन सकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया