चितवन, १२ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सौराहामा जारी बन्द सत्र रोकेर अबको केही घण्टापछि सहमतिका आधारमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गर्ने तयारी अगाडि बढाउनुभएको छ । यसक्रममा ओलीले पूर्वमाओवादी र १० बुँदे पक्षधर नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफ्नो समूहका नेतासँग पनि ओलीले छलफल गरिरहनुभएको छ । सहमतिका आधारमा नेतृत्व चयन गर्ने गृहकार्यका क्रममा १९ सदस्यीय पदाधिकारीको टिम बनाउने ओलीलाई सकस परिरहेको छ ।
आकांक्षीहरु धेरै रहेका तर पदहरू सीमित रहेकाले सबैलाई कसरी चित्त बुझाउने भन्नेमा ओलीले ‘होमवर्क’ गरिरहेको नेताहरूले बताउनुभएको छ । महाधिवेशनस्थलमा रहेका एमाले नेताहरूले दिएको जानकारी अनुसार पदाधिकारी टिममा भइरहेको अहिलेसम्मको गृहकार्य यस्तो रहेको छ ः–
अध्यक्षका दाबेदार
पार्टीको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल दुईजनाले दाबी गरेका छन् । तेस्रोपटक अध्यक्षमा लड्न ओलीले विधानसमेत सच्याइसक्नुभएको छ ।
तर, रावलले जति भोट आए पनि अध्यक्षमा चुनाव लडेरै छाड्ने अडान लिनुभएका कारण अध्यक्ष पदमा सर्वसम्मत हुने स्थिति अहिलेसम्म बनिसकेको छैन । केपी ओलीले चाहिँ रावललाई उपाध्यक्षमै दोहो¥याएर सहमतिमा ल्याउने प्रयास गरिरहनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष
अध्यक्षपछिको वरिष्ठ उपाध्यक्ष पदमा भने ईश्वर पोखरेलबाहेक अरूको दाबी परेको छैन । पोखरेलकै लागि विधानमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको एमाले नेताहरू बताउँछन् । अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत हुने सम्भावना बढेको नेताहरूको भनाइ छ ।
उपाध्यक्ष (६ सीट)
एमालेमा ६ जना उपाध्यक्षको सीट छ । विधान महाधिवेशनले ५ जना उपाध्यक्ष तय गरेकोमा नेताहरूको व्यवस्थापनका लागि ६ जना उपाध्यक्ष बनाउने गरी विधान संशोधन गरिएको छ ।
अहिलेसम्म खुलेर आएका उपाध्यक्षका दाबेदारहरू ५ जना छन् । तर, महासचिवका दाबेदारहरूलाई व्यवस्थापन गर्दा अन्यलाई पनि उपाध्यक्ष बनाउनुपर्ने भएकाले ६ जना उपाध्यक्ष छान्न सजिलो छैन ।
अहिलेसम्म अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा (बादल), घनश्याम भुसाल र देवराज घिमिरेले उपाध्यक्षमा दाबी गरेका छन् । यीमध्ये वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगको प्रमुख बनाउने ओलीको प्रस्ताव छ ।
झापाली नेता देवराजलाई ‘ब्याक’ हुन लगाउने र महासचिव दाबी गरिरहेका केही नेतालाई उपाध्यक्षमा तान्ने ओलीको प्रस्ताव छ । ओलीले भीम रावललाई पनि उपाध्यक्षमै अटाउन चाहेका छन् ।
यसो गर्दा उपाध्यक्ष बनाउनुपर्ने नेताहरूको सङ्ख्या बढ्न गई ८ पुग्छ । किनभने, भीम रावल, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, घनश्याम भुसाल, विष्णु पौडेल, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता छ ।
महासचिव मागेका विष्णु पौडेललाई पनि उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीसामु छ । त्यसैले ६ वटा उपाध्यक्षको सीटमा ८ नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ओलीलाई परेको देखिन्छ ।
महासचिवमा ‘टफ’ प्रतिस्पर्धा
सौराहामा रहेका एमाले नेताहरूको भनाइ अनुसार पदाधिकारीमध्ये सबैभन्दा ‘टफ’ प्रतिस्पर्धा महासचिव पदमा देखा परेको छ । एउटा सिट रहेको महासचिवका दाबेदार नेताहरूमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।
यीमध्येबाट ओलीले शंकर पोखरेललाई महासचिव बनाउन चाहेको नेताहरू बताउँछन् । तर, यसो गर्दा गुरुङ, पौडेल र नेम्वाङलाई उपाध्यक्ष बनाउनुपर्ने बाध्यता छ । प्रदीप ज्ञवाली र ज्ञवाली र पाण्डेलाई भने उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ ।
उपमहासचिव (३ सीट)
एमालेमा उपमहासचिव तीनजना बन्न पाउँछन् । अहिलेसम्म गोकर्ण विष्ट, भीम आचार्य, विन्दा पाण्डे लगायतले उपमहासचिवमा दाबी गरेका छन् । निवर्तमान सचिव योगेश भट्टराईले सचिवमै चित्त बुझाउने बताइसकेका छन् भने प्रदीप ज्ञवालीले महासचिव दाबी गरेका छन् । तर, ओलीले ज्ञवालीलाई उपमहासचिवमै सहमत गराउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।
सचिवका दाबेदारहरू अधिक रहेको र उपाध्यक्ष एवं महासचिवका दाबेदारहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्थामा निवर्तमान सचिवहरूमध्येबाटै तीनजना उपमहासचिव बनाउने बाध्यता एकातिर छ भने अर्कोतर्फ महिला, दलित र मधेसी क्लस्टरलाई पनि नेतृत्वमा ल्याएको सन्देश दिनुपर्ने भएकाले नयाँले समेत उपमहासचिवमा चान्स पाउने सम्भावना रहेको स्रोतले बतायो ।
सचिव ः ७ सिट, २७ बढीको दाबी
एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा. शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् ।
त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, शेरबहादुर तामाङ, विशाल भट्टराई, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ राजेन्द्र गौतम, रघुवीर महासेठ, ठाकुर गैरे, अरुण नेपाल, महेश बस्नेत, गुरु बराल, शेरधन राई, कर्ण थापा र हिक्मत कार्कीसमेतले सचिवमा दाबी गरेका छन् । यीमध्येबाट ओलीले ७ जना सचिव छान्नुपर्ने छ ।
ओलीले पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एकजनालाई सचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ । योगेश भट्टराई पुरानै भइहाले । आफू निकटका विष्णु रिमाल पनि ओलीको प्राथमिकतामा छन् ।