हलेसी मन्दिर खुलेको चार महिनामा रु १२ लाख भेटी सकङ्कलन

Halesi Khabar
0 Shares

खोटाङ, १५ मङ्सिर । विश्व प्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन–१ गतेदेखि मङ्सिर–५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२ लाख ८० भेटी रकम सङ्कलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा रु आठ लाख ८४ हजार ५३०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट रु एक लाख ९८ हजार ८५५, बसाहा गुफा दान पेटिकाबाट रु ८२ हजार १७० र गणेश मन्दिर दान पेटिकाबाट रु ३४ हजार ५२५ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । “कोभिडका कारण गत १५ भदौ–२९ गतेसम्म हलेसी गुफाभित्र पसेर दर्शन गर्न बन्द गरिएको थियो”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भिड लाग्ने गरेको छ ।”

सङ्कलन भएका भेटी रकममध्ये रु पाँच लाख ३२ हजार १४ खर्च गरेर बाँकी रहेको रु छ लाख ६८ हजार ६६ माछापुछ«े बैङ्कको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ । यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर रु तीन जम्मा भएको जनाइएको छ ।

मन्दिरबाट सङ्कलन भएको भेटीबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो । हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा सङ्कलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ ।

हलेसी मन्दिरको भेटीलाई पादर्शी बनाउन तीनवटा संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने चाँबी राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले हलेसी मन्दिर परिसरमा राखिएका दानपेटिकाको चाँबी संयुक्त रुपमा खोल्ने गरेका हुन् ।

हलेसी मन्दिरमा सङ्कलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् पूर्व सांसद टङ्क राईले बताउनुभयो । “हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “हलेसी दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गरेर भौतिक संरचना लगायतका पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेहरुले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रीमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया