काँग्रेस केन्द्रीय सदस्यमा खोटाङका पाँच नेताद्धारा उम्मेदवारी घोषणा

Halesi Khabar
0 Shares

खोटाङ, २३ मङ्सिर । नेपाली काँग्रेस खोटाङका पाँच नेताले १४ औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुवाशकुमार पोखरेल, नरेशकुमार श्रेष्ठ, हीरा गुरुङ, सरस्वती बजिमय र रविप्रकाश राईले काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गरेका पाँचैजना खोटाङ्गे नेताहरु प्यानेल (समूह)मा पर्न आ–आफ्नो पक्षका केन्द्रीय नेताहरुलाई भेट्न दौडधुप गरिरहेका छन् । पूर्व जिल्ला सभापति नरेशकुमार श्रेष्ठ केन्द्रमा रामचन्द्र पौडेल, संविधानसभा सदस्य सरस्वती बजिमय शेरबहादुर देउवा, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ रामचन्द्र पौडेल, सुवाशकुमार पोखरेल शेखर कोइराला र रविप्रकाश राई शेरबहादुर देउवा निकट मानिन्छन् ।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएका रविप्रकाश राई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग नजिक भएका कारण केन्द्रीय सदस्यमा निर्वाचित हुने सम्भावना बलियो रहेको स्रोतले बताएको छ । हालसम्म खोटाङबाट कोही पनि काँग्रेसको केन्द्रीय समिति सदस्य निर्वाचित भएका छैनन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङबाट २६ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जिल्लाबाट छनोट भएका महाधिवेशन प्रतिनिधिहरु आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन यसअघि नै राजधानी काठमाडौँ पुगिसकेका छन् ।

काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । काठमाडौँको भृकुटी मण्डपमा हुने महाधिवेशनको उद्घाटन शुक्रबार दिउसो हुने प्रचारप्रशार समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया