खोटाङ, २६ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन शुरु भएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वषीभत्र पूर्ण अर्गानिक नगर बनाउने अभियान अन्तरगत सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन शुरु भएको हो ।
उद्योगबाट उत्पादन शुरु गरिएका प्राङ्गारिक मल अनुदानमा वितरणसमेत भइरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताउनुभयो । “उद्योगबाट उत्पादित प्राङ्गारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “अगामी दिनमा नगरपालिकाकै अगुवाईमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”
उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले गुणस्तरीयसमेत रहेको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । कृषि शाखा प्रमुख कलौनीका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर प्राङ्गारिक मलकारुपमा बाहिर निस्कन्छ ।
नगरपालिकालाई अर्गानिक नगर बनाउन अर्थमन्त्रालयको विशेष अनुदान बापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “प्राङ्गारिक मलको विकल्प बिना पूर्ण रुपमा अर्गानिक नगर बनाउन नसकिने भएकाले उद्योग स्थापना गरेर प्राङ्गारिक मल उत्पादन शुरु गरिएको हो ।”
प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । प्राङ्गारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले स्थानीय बासिन्दाबाट खरिद गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
प्राङ्गारिक मल उद्योगमा दुई जना र सँगै स्थापना गरिएका नमूना कृषि स्रोत केन्द्रमा अफिसरसहित चार जना कर्मचारी कार्यरत छन् । प्राङ्गारिक मल उद्योगमा एक प्राविधिक र एक ड्राइभर कार्यरत छन् भने नमूना कृषि स्रोत केन्द्रमा एक अधिकृतसहित चारजना कर्मचारी खटिएका छन् ।
प्राङ्गारिक मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्यास उत्पादनको तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।
दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ ।
गोठको स्याउलालाई भने प्राङ्गारिक मल उत्पादनमा उपयोग गरिने जनाइएको छ । ग्याँस उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकैरुपमा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
पन्ध्र वडा रहेको यस नगरपालिकाको वडा नं.–९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथला लगायतका वडाहरु अर्गानिक बनिसकेका छन् । बाँकी अन्य वडाहरुलाई समेत आगामी पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी गरिएको छ ।
रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आफ्नै सक्रियतामा अर्गानिक नगर बनाउने अभियानमा लागेका नगरवासी नगरपालिकाकै लगानीमा आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् । सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र गत चैत–२१ गते १ नं. प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो ।