माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खोटाङका दुई नेताको दाबी

Halesi Khabar
0 Shares

खोटाङ, २ पुस । नेकपा (माओवादी केन्द्र) खोटाङका दुई नेताले १ नं. प्रदेश समितिको अध्यक्षमा दाबी गर्नुभएको छ । सहमतिमा पदाधिकारी टुङ्ग्याउन पटक–पटक प्रयास गर्दा पनि झनै अध्यक्ष पदको आकांक्षी बढेकाले समस्या निम्तिएको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने मागसहित खोटाङका नेताद्धय ध्रुव बुढाथोकी ‘धिरन’ र देवान किराँती ‘पृथ्वी’ले अध्यक्षमा दाबी गर्नुभएको हो ।

गत मङ्सिर–२५ र २६ गते भएको प्रदेश अधिवेशनले पदाधिकारी छिनोफानो गर्न नसकेको भन्दै उनीहरु दुवैजनाले आफू अध्यक्षको लागि योग्य रहेको दाबी गर्नुभएको छ । विराटनगरमा दुई दिनसम्म चलेको प्रदेश अधिवेशनले अध्यक्षसहित पदाधिकारी टुङ्गो लगाउन नसकेपछि पुस–७ गतेका लागि बैठक सारिएको छ ।

केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’, इन्द्र आङ्बुहाङ र प्रदेश सचिव हेमराज भण्डारीले अध्यक्षको दाबी छाडेपछि आफूले अध्यक्षमा दाबी गरेको खोटाङ सह–इन्चार्ज धिरनले बताउनुभयो । “मैले पार्टीको भूमिगतकालमा बिग्रेट कमाण्डर तथा शान्तिपूर्ण राजनीतिपछि पोटिब्यूरो सदस्यको भूमिकासमेत निर्वाह गरिसकेको छु”, उहाँले भन्नुभयो, “अनुभवको आधारमा पार्टीको प्रदेश अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्न सक्ने हैसियत आफूसँग भएकाले दाबी गरेको हुँ ।”

सुनसरीका शिव डाँगी, पाँचथरका मौसम लिम्बूलगायतले दाबी गर्दा आफूले पनि अध्यक्ष पदको दाबी नछाडेको पार्टी जिल्ला समन्वय समिति खोटाङका संयोजक पृथ्वीले बताउनुभयो । “सहमति गर्न पोलिटब्यूरो सदस्य अजम्बर काम्बाङको संयोजकत्वमा चार सदस्यीय समिति बनेको छ”, उहाँले भन्नुभयो, “पुस–७ गते बोलाइएको बिबाद समाधान समितिको बैठकले सबै बिबाद टुङ्ग्याउँछ ।”

पोलिटब्यूरो सदस्य काम्बाङको संयोजकत्वमा गठन गरिएको बिबाद समाधान समितिमा हिमाल, आङ्बोहाङ र हेमराज भण्डारी रहनुभएको छ । माओवादी केन्द्रको प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौँ पदाधिकारी रहने व्यवस्था छ ।

२६९ सदस्यीय समिति रहने माओवादी केन्द्रको प्रदेश समितिमा निर्वाचित सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ । प्रदेश समिति सदस्यहरु सहमतिमै चयन गरिएको रहेको माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया