खोटाङ, ५ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा नरहेको बताउनुभएको छ । नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सोमबार पञ्चमीबजारमा आयोजना गरेको आमसभामालाई सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक भट्टराईले कतिपय मान्छेले एमसिसी पारित गर्न एमालेले नेपाली काँग्रेससँग सहकार्य गरेर सरकारमा जान लागेको छ भन्ने भ्रम फैलाएकाले उक्त भ्रमको पछाडि नलाग्न आग्रहसमेत गर्नुभयो ।
एमालेका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीलाई सरकारमा जाने अहिले हतार नभएको समेत जिकिर गर्नुभयो । “एमाले सरकारमा जान काँग्रेससँग सहकार्य गर्दै छ भन्ने हल्ला फिञ्ज्याइएको छ”, उहाँले भन्नुभयो, “हामीलाई अहिले सरकारमा जान हतार छैन । यो एक वर्षसम्म पाँच दलीय गठबन्धन सरकार टिकिरहोस् । यसले राम्रा काम गरोस् । हामी बाहिरै बसेर प्रतिस्पर्धा गर्छौँ ।”
अहिलेको गठनबन्धन सरकारमा निर्वाचन आयोग, सवोच्च अदालतका केही न्यायाधिशहरु र सभामुखसमेत सामेल रहेको आरोप लगाउनुभयो । “एमाले बलियो भएकै कारण हामीले निस्काशन गरेको व्यक्तिको हस्ताक्षर सङ्कलन गरेर निर्वाचन आयोगले पार्टी फुटायो”, उहाँले भन्नुभयो, “एमाले बलियो भएकै कारण सभामुखले एमालेबाट निष्काशनमा परेका सांसदहरुको पद जोगाइदिएर पार्टी विभाजनमा मतियारको भूमिका खेल्यो ।”
प्रमुख सचेतक भट्टराईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रकै केही नेताहरुले काम गर्न नदिएपछि पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्माओलीले ताजा जनादेशका लागि संसद विघटन गरेको दाबी गर्नुभयो । “केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । छ महिनापछि ताजा जनादेशसहितको संसद ल्याउने गरी विघटन गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “त्यो संविधान विघटन होइन, व्यवस्था विघटन होइन, हामीले विघटन गरेको भनेको छ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेशसहितको मुलुकमा नयाँ सरकार आइसक्थ्यो । तर, सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।”
प्रमुख सचेतक भट्टराईले एमालेबाट विभाजित भएर बाहिरिनुभएका माधवकुमार नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेर पुष्ट्याउनुभएको छ । महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत नभएपछि उनीहरु बाहिरिएको प्रमुख सचेतक भट्टराईले टिप्पणी गर्नुभयो ।
एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्य एवम् १ नं. प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य एवम् १ प्रदेशकै पूर्व सामाजिक विकासमन्त्री उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई लगायतले सम्बोधन गर्नुभएको छ । विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी पाँच दशर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेको पत्रकार सञ्जिव राईले जानकारी दिनुभयो ।