खोटाङ, ६ पुस । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालय स्थापनाकालदेखि हालसम्म दिक्तेलस्थित राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालयबाट बैङ्किङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको बाणिज्य बैङ्कको शाखा कार्यालय लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा बत्ती बालेर मङ्गलबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बाणिज्य बैङ्कको शाखा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला आउनुभएका आयोगका अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय बाणिज्य बैङ्कका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
रावाबेँसी गाउँपालिकालाई लक्षित गरेर यसअघि भागबण्डामा स्थापना भएको सेन्चुरी कमर्सियल बैङ्कको शाखा कार्यालय लामिडाँडामा सञ्चालित छ । लामीडाँडामा सञ्चालित सेन्चुरी कमर्सियल बैङ्कले जनमैत्री काम गर्न नसकेको सेवाग्राहीले गुनासो गरेपछि हरमटारमा गाउँपालिकाकै पहलमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र हरमटारमै बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीहरुसमेत हर्षित भएका छन् । गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालय नहुँदा करीब छ घण्टा पैदल यात्रापछि पुगिने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित राष्ट्रिय बाणिज्य बैङ्कको शाखा धाएर बैङ्किङ बारोबार गर्नुपर्ने बाध्यता हटेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको यस जिल्लामा यसअघि राष्ट्रिय बाणिज्य बैङ्कको चारवटा शाखा सञ्चालनमा रहेको थियो । हरमटारमा स्थापना गरिएको शाखासँगै नेपालमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ ।
जिल्लाका अन्य सबै स्थानीय तहमा स्थापना गरिएका बैङ्कहरुले सम्बन्धित स्थानीय तहको बैङ्किङ कारोबार गरेपनि रावाबेँसी गाउँपालिकामा स्थापना गरिएका सेन्चुरी कमर्सियल बैङ्कले गरेको थिएन । सेन्चुरी कमर्सियल बैङ्कले कारोबार नगरेपछि गाउँपालिकामार्फत भुक्तानी हुने थोरै रकमका लागि पनि गाउँपालिकाका कर्मचारी तथा सेवाग्राही दिक्तेल बजार धाउनुपर्ने बाध्यता रहेको थियो ।
बाणिज्य बैङ्कको शाखा कार्यालय उद्घाटन कार्यक्रमका वक्ताहरुले राष्ट्रिय बाणिज्य बैङ्कलाई जिल्लामा सञ्चालित अन्य नीजि बैङ्कहरु जत्तिकै प्रतिस्पर्धी र जनमैत्री सेवा प्रवाहमा जोड दिन आग्रह गरेका छन् । राष्ट्रिय बाणिज्य बैङ्कका कर्मचारीहरु सेवा प्रवाहमा जनमैत्री हुन नसकेको सर्बत्र जनगुनासो रहेको भन्दै आगामी दिनमा सुधार गर्नुपर्नेमा उनीहरुको जोड रहेको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौला, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, गौरखनाथ गणका सेनानी नरोत्तम पौडेल, प्रहरी नायव उपरीक्षक उमेश लम्साल, सशस्त्र प्रहरी प्रमुख सरोज कार्की, पत्रकार लगायतको उपस्थिति रहेको थियो । बैङ्क उद्घाटनको सिलसिलामा आफ्नो जन्मभूमि आउनुभएका रावाबेँसी गाउँपालिका–५ दुवेकोलका बासिन्दा अध्यक्ष रेग्मीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।