काठमाडौँ, ११ पुस । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको बारेमा चर्चा गर्नुभयो ।
नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएको प्रधानमन्त्री देउवाले भन्नुभयोे, “पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौँ । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।”
प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पार्नुभयो । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।
उहाँले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो ।