माओवादी केन्द्रमा प्रचण्डपथको च्याप्टर छलफल नै नगरी क्लोज

Halesi Khabar
0 Shares

काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गगर्नुभएको छ । तर, अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिनुभएको छ ।
काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभया । उहाँले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गर्नुभयो ।
तर, शान्ति सम्झौता, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछि बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्रचण्डपथ पदावली सबैका निम्ति स्वीकार्य हुन सम्भव नभएको पनि स्वीकार गर्नुभयो ।
यद्यपि, पार्टीमा बहस छलफल नै नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको भन्दै उहाँले भन्नुभयो, ‘दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।’

सम्भव भए राष्ट्रिय सम्मेलन, नभए केन्द्रीय समितिमा छलफल गरेर निर्णय दिनुपर्ने उहाँले अहिले निष्कर्ष निकाल्नुभएको छ । तर, शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस छलफल गरी निष्कर्ष निकाल्ने काम नभएको भन्दै प्रचण्डले भनेका छन्, ‘दुबै नगरी हल्का ढंगले विषयलाई पन्छाउनु गलत भएको छ ।’

यसको अर्थ पुनः प्रचण्डपथ स्थापित गर्नुपर्छ भन्ने नभएको अध्यक्ष प्रचण्डले प्रष्ट पार्नुभएको छ । ‘अब त्यसरी सोच्न विल्कुल पछि फर्किनु हुनपुग्छ’, उहाँले भन्नुभयो, ‘बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणका लागि अध्ययन अनुसन्धान बहस गर्नु हो ।’

त्यसका लागि प्रचण्डपथ र २१औं शताब्दीको जनवाद त्यसका निम्ति महत्वपूर्ण सन्दर्भ सामग्री भने हुने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया