जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Halesi Khabar
0 Shares

खोटाङ, १३ पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठको निधनमा काँग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र काँग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा मङ्गलबार शोक विदा दिइएको छ ।

वि.सं. २०१५ असार–६ गते जन्मनुभएका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहनुभएको थियो । सिकिस्त अवस्थामा गत माघ–२८ गते शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो ।

स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जानेआउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो । वडाध्यक्ष श्रेष्ठ अस्पताल लगिएपछि गत माघ–२८ गतेदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

वि.सं. २०३२ सालमा एसएलसी उत्तिर्ण गर्नुभएका श्रेष्ठ २०३८ सालदेखि काँग्रेसको राजनीतिमा लाग्नुभएको थियो । वि.सं. २०४९ सालमा तत्कालीन चिसापानी गाविस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा काँग्रेस क्षेत्रीय सभापति, २०६२ सालमा मनोनित जिल्ला सदस्य, वि.सं. २०६७ सालको जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र वि.सं. २०७२ मा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

यसपल्ट भने वडाध्यक्ष श्रेष्ठको स्वास्थ्यावस्था खराबीका कारण क्षेत्रीय प्रतिनिधि मात्र बनाइएको काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले पटक–पटक चिसापानी मावि र प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

वडाध्यक्ष श्रेष्ठको शव मङ्गलबार नै नेवारी सँस्कार अनुसार दाहसँस्कार गर्ने तयारी गरिएको आफन्तले जनाएका छन् । वडाध्यक्ष श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।

तपाईको प्रतिक्रिया