काठमाडौँ, १६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मङ्गलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो ।
छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए । त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएको हो ।
हाँले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ ।”
माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको भन्दै उहाँले भन्नुभयो, “कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।”
सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताउनुभयो । दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।