१५ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हलबाटै घोषणा गर्ने माओवादीको तयारी

Halesi Khabar
0 Shares

काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् ।

‘सबै प्रदेशबाट नाम आइसकेपछि केन्द्रीय कमिटी सदस्यको आकार बनिसक्यो, अब निर्वाचनमा जानुपर्ने अवस्था देखिएन’, बन्दसत्रमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘नाम आइसकेपछि अव त्यसलाई प्रक्रिया पु¥याएर घोषणा गर्ने मात्र हो ।’

केन्द्रीय कमिटीमा सहमति जुटेकाले माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ । यसअघि हलबाट २९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर केन्द्रीय कमिटीले केही दिनपछि पदाधिकारी चयन गर्ने कि भन्ने माओवादीमा छलफल भएको थियो ।

‘केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्दा राम्रो सन्देश जान्छ । त्यसो गर्न केही गृहकार्य गर्नुपर्ने नै हुन्छ । त्यो गृहकार्य गर्न र सहमति जुटाउन भोलिसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो’, अर्का स्थायी समिति सदस्यले भने, ‘आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी छ ।’

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।

त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया