काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । आइतबार ढिलोगरी सुरु भएको बन्दसत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।
बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गर्नुभएको थियो । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।
जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुङ्गिएको छ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारी दिनका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने भएको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार साहले बन्दसत्रलाई यसबारे जानकारी दिनुभएको छ । साहले विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।