खोटाङ, १८ पुस । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा खोटाङका तीनजना नेता सर्वसहमत चयन भएका छन् । काठमाडौँमा जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट खोटाङका रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई सर्वसहमत केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।
प्रदेशसभा एवम् संविधानसभा सदस्य पासाङ आदिवासी जनजाति पुरुष, संविधानसभा सदस्य अस्मिता खसआर्य महिला र दुर्गाजयन्ती आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य चयन हुनुभएको जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार घोषणा गर्नुभएको २३६ जनाको केन्द्रीय समिति सदस्यको सूचिमा खोटाङका तीन नेता पर्नुभएको हो ।
यसैबीच, माओवादी केन्द्रको अनुशासन आयोगको अध्यक्षमा पूर्व सांसद टंक राई चयन हुनुभएको छ । सर्वसहमत आयोगको अध्यक्षमा चयन हुनुभएका पूर्व सांसद राई खोटाङका पुराना तथा अग्रज कम्युनिष्ट नेता मानिनुहुन्छ ।
आयोगका अध्यक्ष राईको वरियता पार्टीको स्थायी समिति सदस्यको सरह हुने माओवादी केन्द्रको विधानमा उल्लेछ । आयोगका अध्यक्ष राईलाई पार्टी अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यमा मनोनित गर्ने समाचार स्रोतले जनाएको छ ।
माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमध्ये ६३ जना पदाधिकारी चयनपछि बस्ने पहिलो बैठकले छनोट गर्ने जनाइएको छ । पदाधिकारी चयनका लागि भोलि सोमबार २३६ जनामध्ये सबैभन्दा जेष्ठ नेताको अध्यक्षतामा बैठक बस्ने तयारी गरिएको नवनिर्वाचित केन्द्रीय सदस्य पासाङले जानकारी दिनुभएको छ ।