राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुङ्गिन्छ : महामन्त्री थापा

Halesi Khabar
0 Shares

काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रियसभा निर्वाचनसँगै टुङ्गिने बताउनुभएको छ । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राख्नुभयो ।

“स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रियसभा चुनावपछि टुङ्गिन्छ”, महामन्त्री थापाले भन्नुभयो, “त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुनावसम्म जान्छ । गठबन्धनकै सरकारले चुनाव गर्दा पनि चुनावी गठबन्धन भने हुन सक्दैन ।”

उहाँले सभापति शेरबहादुर देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको स्पष्ट पार्नुभयो । थापाले पार्टी सञ्चालनका सम्बन्धमा देउवाको कार्यशैलीको पनि चर्को आलोचना सम्बोधनका क्रममा गरेका थिए ।

“सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ । तर यसरी यात्रा सफल हुँदैन ।”

पार्टी बलियो बनाउन देउवाले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । महामन्त्री थापा काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनमा शेखर कोइरालाको समूहबाट विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया